धनगढी, १ चैत/ भारतको उत्तरप्रदेशस्थित लखिमपुर जिल्लाको चन्दनचौकीमा आयोजना गरिएको भारत-नेपाल मैत्री होली महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका प्रतिनिधिहरूले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आपसी भाइचारालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
चन्दनचौकीस्थित सरस्वती शिशु विद्या मन्दिरको प्रांगणमा आयोजित महोत्सवमा भारत र नेपालका विभिन्न सामाजिक, राजनीतिक तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अयोध्यामा विराजमान भगवान श्रीरामको स्मरणमा तयार गरिएको स्मृति चिन्हलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ प्रचारक ओमपाल सिंहले नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध अत्यन्तै पुरानो र घनिष्ठ रहेको उल्लेख गर्दै आपसी समरसता र भाइचारालाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै कार्यक्रममा ३९ औँ बटालियन एसएसबीका कमाण्डर राजेन्द्र कुमार राजेश्वरी, सहायक कमाण्डेन्ट विजेन्द्र कुमार, वरिष्ठ समाजसेवी सलिल अग्रवाल, दिनेश मिश्र, गौरव सिंह, धिन्द्र सिंह, सुमित तिवारी, राहुल तिवारी, बलजीत सिंह, निरञ्जन लाल, कृष्ण अवतार भाटी, मुकुट बिहारी, संतराम गुप्ता, आशुतोष कुमार, संजय सिंह, योगेन्द्र, शिवप्रकाश, पंकज कुमार गुप्ता, पप्पु यादव, विजय वाजपेयी, सतीश श्रीवास्तव, कौशल प्रजापति लगायतको उपस्थिति रहेको थियो।
नेपालका तर्फबाट भारत–नेपाल मैत्री संघ सुदूरपश्चिमका अध्यक्ष हरिशंकर ठाकुर, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार हेमन्त पौडेल, निर्माण व्यवसायी लक्ष्मण साउद, उद्योगी शुभ ठाकुर, पद्मराज जोशी, खेलाडी त्रिलोक पाण्डे, योगेश बम, पत्रकार जीवन बिष्ट, समाजसेवी सुभाष पौडेल, व्यवसायी सुभाष अग्रवाल, युवा नेता दिल्लीराज भट्ट लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन समाजसेवी तथा भाजपा नेता रवि गुप्ताले गरेका थिए भने कार्यक्रम सरस्वती शिशु विद्या मन्दिरका प्रधानाध्यापक सुनील कुमारको पहलमा आयोजना गरिएको थियो। कार्यक्रमको समापनमा सहभागीहरूले फूलको होली खेल्दै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका थिए। सहभागीहरूलाई भोजनको व्यवस्था गरी कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।



















