धनगढी, २७ फागुन / कैलालीको धनगढी उपमहानगरपालिका–७ देवहरियामा एक महिलाको हत्या प्रकरणले पारिवारिक हिंसासँगै मिडियाको संवेदनशीलताको प्रश्न पनि उठाएको छ। ३० वर्षीया सरस्वती अवस्थी जोशी आफ्नै घरभित्र मृत फेला परेपछि उनका श्रीमान् डम्मरराज जोशी पक्राउ परेका छन्। तर घटनापछि आमाको मृत्यु र बाबु प्रहरी हिरासतमा पुगेको पीडामा रहेका उनका दुई सन्तान, विशेषगरी नौ वर्षीया छोरीसँग केही युट्युबर तथा अनलाइन मिडियाले अन्तर्वार्ता लिएको विषयले व्यापक आलोचना जन्माएको छ।
शनिबार राति आफ्नै घरमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सरस्वतीको शव फेला परेको थियो। घरभित्र रगत देखिएको र घटनाको प्रकृति हेरेपछि प्रहरीले प्रारम्भिक रूपमा हत्या भएको आशंका गरेको थियो। घटनापछि फरार भएका उनका श्रीमान् डम्मरराजलाई प्रहरीले आइतबार बाँकेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रारम्भिक सोधपुछमा उनले श्रीमतीको हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ।
घटनापछि परिवारका दुई नाबालक सन्तान बिचल्लीमा परेका छन्। नौ वर्षीया छोरी र पाँच महिने छोरा अहिले आफन्तहरूको सहारामा छन्। आमाको मृत्यु र बाबुको गिरफ्तारीपछि बालबालिकाले गहिरो मानसिक आघात झेलिरहेका छन्। स्थानीयका अनुसार नौ वर्षीया बालिका आफ्ना दुधे भाइलाई काँखमा च्यापेर सम्हाल्ने प्रयास गरिरहेको दृश्यले समुदायलाई भावुक बनाएको छ।
तर यही संवेदनशील अवस्थालाई केही युट्युबर र अनलाइन मिडियाले सामग्री बनाएको भन्दै आलोचना भएको छ। दुधे भाइलाई काँखमा बोकेर बसेकी बालिकासँग ‘के भयो’, ‘कसरी घटना भयो’, ‘कुन हतियार प्रयोग भयो’ जस्ता प्रश्न सोध्दै भिडियो अन्तर्वार्ता सार्वजनिक गरिएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ता शान्ती पन्तले यस्तो गतिविधि असंवेदनशील भएको टिप्पणी गरेकी छन्। उनका अनुसार क्यामरा र माइक्रोफोन बोकेर घटनाबाट आहत नाबालिकासँग बाबुले कसरी हत्या गरे भन्ने प्रश्न सोध्नु बालअधिकार र मानवीय संवेदनशीलताविरुद्धको व्यवहार हो।
स्थानीय बासिन्दाले पनि यस्ता गतिविधिको विरोध गरेका छन्। स्थानीय आरती जोशीका अनुसार बालिकालाई घटनाबारे स्पष्ट जानकारी नै नभए पनि केही युट्युबरहरूले बारम्बार प्रश्न गरेर उनलाई थप मानसिक पीडा दिएको बताइन्। “न्याय खोज्नुको सट्टा केहीले आँसुको व्यापार गरिरहेका छन्,” उनले भनिन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले पनि नाबालिकालाई मिडियामा ल्याएर घटनाबारे प्रश्न गर्नु गलत भएको बताएका छन्। यस्ता गतिविधिबारे औपचारिक उजुरी परे कानुनी कारबाही हुन सक्ने उनले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शनिबार राति घरबाहिर जाने विषयमा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। झडपका क्रममा डम्मरराजको हातमा चोट लागेको बताइएको छ। त्यसपछि रिसको आवेगमा उनले घरमा पानी तान्न प्रयोग हुने मोटरले प्रहार गर्दा सरस्वतीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यो घटनाले एकातिर पारिवारिक हिंसाको भयावह रूप उजागर गरेको छ भने अर्कोतिर पीडित बालबालिकाको संवेदनशील अवस्थालाई मिडियाले कसरी प्रस्तुत गर्ने भन्ने गम्भीर नैतिक प्रश्न पनि उठाएको छ।
