डडेल्धुरा, २६ फागुन / “देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन्” भन्ने मूल नारालाई आत्मसात् गर्दै डडेल्धुराका युवा नागरिक निरज भट्टले “सक्षम नागरिक – समृद्ध डडेल्धुरा” अभियानको घोषणा गरेका छन्। नागरिक सचेतना, सीप विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त अभियान २०८३ साल बैशाखदेखि सञ्चालन हुने बताइएको छ।
भट्टले आफ्नो व्यक्तिगत लगानी र नेतृत्वमा हरेक महिनाको १ गते बेलुका ६:०० बजेदेखि ९:०० बजेसम्म सम्बन्धित क्षेत्रका शीर्ष विज्ञ, प्रशिक्षक तथा अनुभवी व्यक्तित्वहरूको सहभागितामा ३ घण्टे निशुल्क भर्चुअल अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्। कार्यक्रम पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ भने सहभागीका लागि कुनै शुल्क लाग्ने छैन।
उनका अनुसार यो कार्यक्रम कुनै राजनीतिक उद्देश्यले सञ्चालन गरिएको नभई डडेल्धुरामा सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने सामाजिक अभियान मात्र हो। कार्यक्रममा डडेल्धुरा जिल्लाका मतदाता नागरिकहरूलाई प्राथमिकता दिइनेछ। साथै कार्यक्रमका रेकर्डेड भिडियोहरू युट्युबमार्फत सार्वजनिक गरिने भएकाले देशभरका अन्य नागरिकले पनि उक्त सामग्रीबाट ज्ञान र जानकारी लिन सक्नेछन्।
अभियानअन्तर्गत २०८३ सालभर विभिन्न विषयमा १२ वटा मासिक कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ। बैशाख १ गते हुने पहिलो कार्यक्रममा उद्यमशीलता, स्थानीय उत्पादन प्रवर्द्धन, साना–मझौला तथा घरेलु उद्योगको विकास, ब्रान्डिङ र बजारिकरण जस्ता विषयमा केन्द्रित छलफल गरिनेछ।
त्यसैगरी जेठ १ गते आधुनिक तथा व्यवसायिक कृषि, युवालाई कृषितर्फ आकर्षित गर्ने उपाय तथा “आफ्नै माटोमा सम्भावना छ” अभियानबारे छलफल हुनेछ। असार १ गते गुणस्तरीय शिक्षा, अभिभावकको भूमिका तथा विद्यार्थीको भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयको जिम्मेवारीबारे अभिमुखीकरण गरिनेछ।
साउन १ गते डडेल्धुराको पर्यटन सम्भावना, स्थानीय पर्यटन प्रवर्द्धन तथा पर्यटनमार्फत आयआर्जनका अवसरबारे कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै भदौ १ गते स्वास्थ्य, जीवनशैली र वातावरणसम्बन्धी सचेतना, स्वस्थ खानपान, मानसिक स्वास्थ्य, सरसफाइ तथा जलवायु परिवर्तनका विषयमा छलफल गरिनेछ।
असोज १ गते नागरिक आचरण लागूऔषध दुर्व्यसन नियन्त्रण तथा जिम्मेवार नागरिक निर्माणमा युवाको भूमिकाबारे कार्यक्रम हुनेछ। कात्तिक १ गते डिजिटल साक्षरता, सुरक्षित इन्टरनेट प्रयोग र प्रविधिको सही उपयोगसम्बन्धी विषय समेटिनेछ।
त्यसपछि मंसिर १ गते संविधान, नागरिक अधिकार तथा लोकतान्त्रिक व्यवस्थामा नागरिकको भूमिकाबारे राजनीतिक तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। पुस १ गते “स्मार्ट भिलेज अवधारणा र गाउँमै अवसर सिर्जना गर्ने उपायबारे चर्चा हुनेछ।
माघ १ गते डिजिटल अर्थतन्त्र तथा अनलाइनमार्फत आयआर्जनका सम्भावनाबारे जानकारी दिइनेछ भने फागुन १ गते बैंक, बीमा, शेयर बजार तथा समग्र वित्तीय व्यवस्थापनसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिनेछ।
अभियानको अन्तिम कार्यक्रम चैत १ गते महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित रहने तालिका सार्वजनिक गरिएको छ।
भट्टका अनुसार अभियानको पहिलो वर्षका १२ वटै कार्यक्रम पूर्ण रूपमा भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछन् र सहभागीका लागि पूर्णतः निशुल्क रहनेछन्। यस अभियानले डडेल्धुरामा सचेत, सक्षम र जिम्मेवार नागरिक निर्माण गर्दै समृद्ध समाज निर्माणतर्फ सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।