बैतडी, १८ फागुन / बैतडीको पुर्चौंडी नगरपालिका-१० महरागाउँमा भाइरल अर्थात मौसमी ज्वरोको प्रकोपका कारण दुई बालकको ज्यान गएको पाइएको छ। एकसाताको अन्तरलामा एकै घरका दुई दाजुभाइको ज्यान गएपछि प्रभावित क्षेत्रमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले ज्वरोकै कारण दुई बालकको ज्यान गएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार महरागाउँमा १३ बर्षीय विनोद महरा र १० बर्षीय विकास महराको ज्वरोका कारण ज्यान गएको हो । विनोदको फागुन ११ गते र विकासको फागुन १६ गते मृत्यु भएको थियो । एकैघरमा दुवै दाजुभाइको मृत्यु भएपछि अहिले महरागाउँ शोकमा डुबेको छ । एकै घरका दुई बालकको अप्रत्याशित मृत्यु भएपछि अहिले स्थानीय त्रास र मानसिक चिन्ता सिजर्ना भएको बताइएको छ ।
ज्वरो प्रभावित समुदायका नागरिकमा उच्च ज्वरो, रुघाखोकी, टाउको दुखाइ, वान्ता, कमजोरी तथा केहीमा स्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । प्रभावित क्षेत्र महरागाउँका ३२ घरपरिवारसहित आसपासका गोरागाउँ र साङडी टोलका गरी करिब १०० घरपरिवारका २ सय जना नागरिक बिरामी परेका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए ।
हालसम्मको प्रारम्भिक अनुमान अनुसार मौसमी भाइरल ज्वरोका कारण दुवै बालकको ज्यान गएको हुन सक्ने बताइए पनि प्रयोगशाला परीक्षण र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रतिवदेनमा उल्लेख गरिएको छ ।
प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली पुगेपछि गरिएको परीक्षण र अनुसन्धानमा क्रममा केही घरपरिवारले समयमै बिरामीहरुलाई स्वास्थ्य संस्थामा नलगेको पाइएको छ ।
दूषित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइको कमी, बिषादीयुक्त फलफूल र अन्य खाद्यवस्तुको प्रयोगले भाइरल ज्वरोको प्रकोप फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनापछि पुर्चौंडी नगरपालिकाले द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवर नेतृत्वको टोलीमा जनस्वास्थ्य अधिकृत, स्वास्थ्यचौकीका कर्मचारी तथा ल्याब प्राविधिक सहभागी छन् । साथै स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पताल बैतडीको समन्वयमा चिकित्सकसहितको टोली पनि खटाइएको छ ।
प्रभावित क्षेत्रमा ७ जना बिरामीको स्वास्थ्य जाँच तथा प्राथमिक उपचार गरिएको छ सक्रिय लक्षण देखिएका १० जनाबाट थ्रोट स्वाब नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ भने प्रभावित टोलको पानी परीक्षणका लागि तीन वटा नमुना संकलन गरिएको छ । आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री व्यवस्थापन गर्नुका साथै सिकिस्त बिरामीको २४सै घण्टा निगरानी भइरहेको जनाइएको छ ।
वडा समितिको सहजीकरणमा बजारमा आयातित तथा अखाद्य वस्तुको बिक्री वितरणमा निगरानी कडाइ गरिएको छ । अनावश्यक जमघट, भेला तथा आवतजावत नियन्त्रण गर्नुका साथै पानी उमालेर पिउने, शुद्धीकरणका उपाय अपनाउने, साबुनपानीले हात धुने र मास्क प्रयोग गर्नेबारे समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सिफारिश गरिएको छ ।
नगरपालिकाले अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म स्वास्थ्यकर्मी र आवश्यक औषधिसहित सेवा निरन्तरता दिने, गम्भीर बिरामीलाई तत्काल रेफरल गर्ने तथा आवश्यक परे थप रगत तथा अन्य नमुना परीक्षणको व्यवस्था गर्ने जनाएको छ । साथै खानेपानी र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै अन्य क्षेत्रमा संक्रमण फैलिन नदिन निरन्तर अनुगमन गर्ने निष्कर्ष निकालिएको छ ।