धनगढी, १२ फागुन/निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट सुदूरपश्चिम पश्चिम प्रदेशका ९ ओटै जिल्लामा थप प्रहरी परिचालन गरिएका छन ।
प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा ६ सय ३२, कञ्चनपुरमा २ सय २७, अछाममा ३ सय ३९, बाजुरामा १ सय १८, डोटीमा २ सय २३, बैतडी २ सय ४२, डडेल्धुरामा १ सय ४०, दार्चुलामा ३३ र बझाङमा ३ सय ५८ जना थप प्रहरी परिचालन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमा बहादुर बिष्टले जानकारी दिए ।
मंगलबार मात्रै बैतडी डडेल्धुरा र डोटीको लागि ३६० जनाको प्रहरी टोली खटाइएको पठाएको प्रवक्ता विष्टले बताए । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विष्टका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले थप सुरक्षाकर्मी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयहरूमा आवश्यकताअनुसार थप मदत खटाउने क्रम जारी रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा मतदान स्थल, मतगणना केन्द्र तथा संवेदनशिल क्षेत्रहरूमा विशेष सुरक्षा योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।