बैतडी, ९ फागुन / प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोलि बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले (फागुन १० गते आइतबार) ‘घण्टी अभिवादन यात्रा’ आयोजना गर्ने भएको छ। निर्वाचन परिचालन समिति, बैतडीको आयोजनामा हुने उक्त अभियानमा प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिमोहन भण्डारी तथा समानुपातिक तर्फका उम्मेदवार हरिश प्रसाद भट्टको उपस्थितिमा गरिने राष्ट्रिय स्वतन्त्र पार्टीका एक प्रतिनिधिले जानकारी दिए ।
समितिका अनुसार अभिवादन यात्रा बिहान ९ बजे सतबाँझबाट सुरु हुनेछ। त्यसपछि १०:३० बजे देहिमाण्डौं, १२:३० बजे गोठलापानी हुँदै अपराह्न ३ बजे झुलाघाटमा पुगेर कार्यक्रम सम्पन्न गरिने तालिका रहेको छ।
अभियानअन्तर्गत उम्मेदवारहरूले विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नेछन्। स्थानीय आवश्यकता, विकासका प्राथमिकता र समसामयिक मुद्दाबारे छलफल गर्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ।
निर्वाचन परिचालन समितिले सम्बन्धित क्षेत्रका मतदाता, समर्थक तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई अभिवादन यात्रालाई सफल बनाउन अपिल गरेको छ।