धनगढी, ९ फागुन / “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसात् गर्दै बैतडी समाज कैलालीले १७औँ संस्करणको ‘रक्तदान महोत्सव’ भोलि (फागुन ९ ) गते गर्दै छ। सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस महोत्सवमा आम नागरिक, स्वयंसेवी रक्तदाता तथा सामाजिक अभियन्ताहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
बैतडी समाज कैलालीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिने आयोजकले जनाएको छ। विगतका संस्करणहरूमा उल्लेखनीय सहभागिता जुटाउँदै आएको महोत्सवले हालसम्म १५२६ युनिट रगत संकलन गर्न सफल भएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ, जसले अभियानको सामाजिक प्रभावलाई स्पष्ट पार्छ।
कार्यक्रम २०८२ साल फाल्गुन ९ गते शनिबार बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन बैतडी समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए। रक्तदान कार्यक्रम धनगढी उपमहानगरपालिका–उत्तरबेहडीस्थित सचिवालय प्राङ्गण (पद्मा हेल्थ कलेज परिसर) मा आयोजना हुने अध्यक्ष भट्टले बताए
बैतडी समाज कैलाली अध्यक्ष भट्टले, रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने मानवीय उद्देश्यका साथ अभियानलाई निरन्तरता दिँदै आएको बताए । समाजसेवा, सहकार्य र मानवीय सद्भावको प्रतीकका रूपमा स्थापित यस रक्तदान महोत्सवले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास समेत गरिएको छ।
