धनगढी, १९ माघ/सुदूरपश्चिम प्रदेशको यातायातको ‘ट्रान्जिट प्वाईन्ट’ अत्तरियाको बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरेर सवारी साधन चेकजाँच सुरु गरिएको छ । फागुन २१मा हुन लागेको प्रतिनिधी सभा निर्वाच लक्षित सवारी साधनलाई कुकुर प्रयोग गरेर सवारी साधन चेकजाँच सुरु गरिएको हो ।
कैलालीको अत्तरिया बसपार्क तराईबाट सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने प्रमुख ‘ट्रान्जिट प्वाईन्ट’ बसपार्क हो । इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सँगको सहकार्यमा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी सधारीसाधनहरुमा चेकजाँच सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाएर लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा चेकजाँच गरिएकोे इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले बताए । उनले फागुन २१ गते हुन लागेको चुनाव लक्षित गरेर विशेष चेकजाँच गरिएको बताए । विस्फोटक पदार्थ, हातहतियार तथा लागू औषध ओसारपसार रोक्ने उद्देश्यले चेकजाँच गरिएको उनले बताए ।
अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ । सोमबार एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागूऔषधजन्य सामग्री फेला नपरेको डिएसपी चन्दले जानकारी दिए । चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।