धनगढी । शहीद दिवसको अवसरमा चुरे गाउँपालिका–३ मा रहेको बसर युवा क्लब र धनगढी–४ रातोपुलस्थित कर्मा एब्रड एजुकेसनको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। शहीदहरूको सम्झनामा आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाका क्लबहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताका खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। अन्तिम खेलमा डोटीस्थित रोयल जोरायल क्लबले आयोजक बसर युवा क्लबलाई ४–३ गोलको अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो। आयोजक बसर युवा क्लब दोस्रो स्थानमा रहँदा कर्मा एब्रड एजुकेसनले सान्त्वना हासिल गरेको थियो।
कार्यक्रमका क्रममा शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गर्नुका साथै दीप प्रज्ज्वलन गरिएको थियो। आयोजकका अनुसार युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै शहीदहरूको योगदान सम्झनु र देश निर्माणका लागि युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
‘बलिदानको कथा, हाम्रो देश निर्माणमा जिम्मेवारी’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगिताले युवामाझ सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।


