धनगढी, १३ माघ / धनगढी-३ स्थित दुन एकेडेमीले शैक्षिक सत्र २०८२को उत्तरार्धमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आयोजना गरेको १६ औँ खेलकुद सप्ताह कार्यक्रम मंगलबार उद्घाटन गरिएको छ। विद्यालयका प्रधानाध्यापक आर.पी. उपाध्यायले कार्यक्रममा रिबन काटी औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक उपाध्यायले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, टोली भावना र आत्मविश्वास विकास गर्न सहयोग पुर्याउनुका साथै नियमित खेल गतिविधिले शरीरलाई तन्दुरुस्त राख्दै जीवनमा सकारात्मक सोचको विकास गराउने उल्लेख गर्नुभयो।
खेलकुद सप्ताह अन्तर्गत कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगिताअन्तर्गत विद्यालयको खेलमैदानमा विभिन्न खेल गतिविधिहरू सञ्चालन गरिएका थिए।
समा छात्र तथा छात्रातर्फ १०० मिटर दौड र छात्रातर्फ हाउसवाइज पनाल्टी सुटआउट प्रतियोगिता प्रमुख आकर्षणका रूपमा रहेका थिए।
खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहहरूलाई मंगलबार नै विद्यालयका प्रधानाध्यापक उपाध्यायकै हातबाट पुरस्कार वितरण गरिएको विद्यालय परिवारले जनाएको छ।