धनगढी, ७ माघ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ का लागि यसअघि सार्वजनिक गरिएको उम्मेदवारको नाम परिवर्तन गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जिल्ला निर्वाचन कार्यालय कैलालीलाई पठाइएको आधिकारिक पत्रअनुसार हरि रेग्मीको नाम हटाई खेमराज कोइरालालाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
रास्वपाका अध्यक्ष रवि लामिछानेको हस्ताक्षरसहित पत्रमा पार्टीको आन्तरिक निर्णयअनुसार उम्मेदवार परिवर्तन गर्नुपरेको उल्लेख छ। पत्रमा यसअघि पार्टीको नामबाट उम्मेदवारका रूपमा दर्ता गरिएका हरि प्रसाद रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार कायम गरिदिन निर्वाचन कार्यालयसँग अनुरोध गरिएको छ।
पत्र जिल्ला निर्वाचन कार्यालय, कैलाली निर्वाचन क्षेत्र नं. ४ लाई सम्बोधन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा पछिल्लो समय उम्मेदवार छनोटमा आन्तरिक कलह सिर्जना भएको देखिन्छ ।
यद्यपि, उम्मेदवार परिवर्तनको कारणबारे पार्टीले सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन। स्थानीय राजनीतिक वृत्तमा भने यो निर्णयले निर्वाचन समीकरणमा असर पार्ने चर्चा सुरु भएको छ।


रवि लामिछानेको हस्ताक्षर टिकट लिएर रेग्मीले १२: २० को समयमा बाजागाजा सहित तामझामका साथ उम्मेदवारी दर्ता गराएका थिए। फेरि अर्का उम्मेदवार खेमराज कोइरालाले १ बजे आएर आफ्नो उम्मेदवारी दर्ता गराएपछि रेग्मीको उम्मेदवारी हटाइएको कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले सुदूरपत्रलाई बताए ।