धनगढी, २६ पुस / जनजाति कल्याण आश्रम, नेपाल युवा कार्य धनगढीको आयोजनामा माघी पर्वको अवसर पारेर माघी मिलन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ। धनगढीमा आज विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा जनजातिका कल्याण आश्रमले माघी मिलन कार्यक्रम गरेको हो।
लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका उप-सचिव हिरालाल चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले माघी पर्व थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको र यस्ता कार्यक्रमले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने बताए।
कार्यक्रम संयोजक तथा युवा कार्य धनगढी कैलालीका अध्यक्ष सन्तराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमाको माया छात्रवासका अध्यक्ष शारदा शाह र बार एसोसिएसनका अध्यक्ष लगायतका व्यक्तित्वहरू विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
कार्यक्रममा थारु समुदायका विभिन्न परम्परागत सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। सहभागी कलाकारहरूले मौलिक भेषभूषा र लोकधुनमार्फत माघीको सांस्कृतिक महत्व उजागर गरेका थिए।
विश्व हिन्दु परिषद्, प्राज्ञिक विद्यार्थी परिषद् लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको जनजाति कल्याण आश्रम नेपालका सुदूरपश्चिम तथा कर्णाली प्रदेश संगठन सचिव शुक्रराज रानाले जानकारी दिए।
जनजाति कल्याण आश्रम नेपालले आयोजना गरेको माघी मिलन कार्यक्रमले सांस्कृतिक सद्भाव, पहिचान र युवा सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
