धनगढी । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्युत् खपत गर्ने र नियमित महसुल बुझाउने उत्कृष्ट ग्राहकहरूलाई सम्मान गरेको छ। प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियामा शनिवार आयोजित विशेष कार्यक्रममा यस्ता १० ग्राहकलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानगरपालिकासहित उत्कृष्ट १० ग्राहकलाई सम्मान गर्नुभएको थियो। सम्मानित हुनेहरूमा धनगढी उपमहानगरपालिका, लक्ष्मी कत्था उद्योग प्रालि गोदावरी–५, आरपी एग्रो इन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत् सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि, नेपाल टेलिकम र गोदावरी फ्लोर मिल रहेका छन्।
यी ग्राहकहरूले सबैभन्दा बढी विद्युत् खपत गर्दै समयमै महसुल बुझाएको आधारमा सम्मानित भएका हुन्। प्राधिकरणले यस्ता ग्राहकलाई महत्वपूर्ण साझेदारको रूपमा लिँदै प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरेको हो।
प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख मनोजकुमार यादवले बढी विजुली खपत गरेर समयमै महसुल बुझाउने ग्राहकलाई सम्मान गर्नुले विद्युत् उपयोगलाई प्रोत्साहन गर्ने बताउनुभयो। यसले प्रदेशमा उद्योग, व्यापार र दैनिक जीवनमा विद्युत्को भरपर्दो प्रयोग बढाउन मद्दत पुग्ने उहाँको भनाइ छ। यस कार्यक्रमले नेपाल विद्युत प्राधिकरणको सकारात्मक पहललाई झल्काउँछ, जसले ग्राहक र संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।