धनगढी, १४ पुस / सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरसहित देशभरका तराई क्षेत्रमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम निरन्तर घट्दै गएको छ भने बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्दा चिसो अझ बढेको हो।
चिसो र हुस्सुका कारण दैनिक जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्।
मौसमविद् डेविड ढकालले ‘आगामी तीन दिनसम्म तराई क्षेत्रमा तापक्रम कम रहने र हुस्सु लागिरहने बताए । तीन दिनसम्म यस्तै रहने र पछि बिस्तारै केही खुल्ने अनुमान रहेको मौसमविद् ढकालले जानकारी दिए।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन तथा बिहान-बेलुकाको समयमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
