धनगढी, ३ पुस / कैलाली जिल्लामा घरेलु हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको स्थानीय तहगत विवरणअनुसार जिल्लाभर पछिल्लो अवधिमा १ सय ३२ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्।
तथ्याङ्कअनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ७३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन्। यसपछि गोदावरी नगरपालिकामा १६, टीकापुर नगरपालिकामा १२ र घोडाघोडी नगरपालिकामा ८ वटा उजुरी दर्ता भएका छन्।
त्यसैगरी लम्की–चुहा नगरपालिकामा ५, भजनी नगरपालिकामा ३, गौरीगंगा नगरपालिकामा ४ र कैलारी गाउँपालिकामा ३ वटा घटना सार्वजनिक भएका छन्।
ग्रामीण क्षेत्रतर्फ हेर्दा जोशीपुर गाउँपालिका र चुरे गाउँपालिकामा समान रूपमा २–२ वटा उजुरी दर्ता भएका छन् भने मोहन्याल गाउँपालिकामा १ र जानकी गाउँपालिकामा ३ वटा घरेलु हिंसाका घटना देखिएका छन्। तर बर्दगोरिया गाउँपालिकामा भने हिंसाको सङ्ख्या शून्य देखिएको छ।
केही स्थानीय तहमा उजुरी संख्या न्यून देखिए पनि सामाजिक लाज, डर र कानुनी जानकारीको अभावका कारण धेरै घटना अझै बाहिर नआएको हुन सक्ने सरोकारवालाहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना, पीडितमैत्री उजुरी प्रणाली र स्थानीय सरकारसँग सहकार्यलाई प्राथमिकता दिइएको जनाएको छ। तर, दिगो समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयन, आर्थिक सशक्तीकरण र सामाजिक सोच परिवर्तन अपरिहार्य रहेको निष्कर्षमा सरोकारवालाहरू पुगेका छन्।
घरेलु हिंसाविरुद्ध ‘घर-घरमै शून्य सहनशीलता’को अभियान नचलाएसम्म कैलालीमा यो समस्या अझ गहिरिँदै जाने जोखिम देखिएको छ।
