धनगढी , २ पुस / बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता २०८१ धनगढीमा आयोजना हुने भएको छ। धनगढी रङ्गशालाको प्राङ्गणमा उक्त प्रतियोगिता सञ्चालन गरिने जनाएको छ।
बाजुरेली सेवा समाज धनगढी, कैलालीको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रायोजकत्वमा पुष ४ गतेदेखि ६ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत बताए ।
महोत्सव अन्तर्गत सञ्चालन हुने भुवाचाली खेल प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, सहभागी सबै टोलीलाई १०–१० हजार नगदसहित , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस महोत्सवले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति चिन्न र संरक्षणमा जोडिन प्रेरणा दिने विश्वास लिइएको छ। महोत्सवमा भुवाचाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा समुदायबीच आपसी सद्भाव सुदृढ बनाउने गतिविधिहरू समेटिने बताइएको छ।
आयोजकले सम्पूर्ण कला संस्कृति प्रेमी, खेलप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।
