सुदूरपश्चिम महोत्सव केवल एक सांस्कृतिक कार्यक्रम होइन, यो सुदूरपश्चिमको आत्मा, पहिचान र सम्भावनाको ठूलो उत्सव हो। जहाँ एकातिर व्यवसायी र ग्राहकको प्रत्यक्ष भेटघाट हुन्छ, अर्कोतिर नौ जिल्लाको संस्कृति एउटै मञ्चमा झल्किन्छ।
महोत्सवमा स्वदेशी हस्तकला, स्थानीय उत्पादनदेखि लिएर विदेशी ब्रान्डसम्म खुलेर प्रस्तुत हुन्छन्। व्यापारिक क्रियाकलापले बजारलाई चलायमान बनाउने, स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने र उपभोक्तामा स्वदेशी उत्पादनप्रतिको विश्वास बलियो बनाउने वातावरण महोत्सवले तयार गर्छ।
सुदूरपश्चिमको आर्थिक र सामाजिक जीवनमा यसको प्रभाव वर्षौंदेखि देखिँदै आएको छ । जसले महोत्सवलाई केवल भीड तान्ने कार्यक्रम नभई क्षेत्रीय विकासको अभिभारा बोकेको अभियान बनाएको छ।
यस महोत्सवको अद्वितीय पक्ष सांस्कृतिक विविधता हो। सुदूरपश्चिमका नौ जिल्लाका भेषभूषा, भाषा, नृत्य, गीत, रीति–रिवाज र परम्पराहरू एउटै मञ्चमा भेटिँदा यहाँको समृद्ध पहिचान उजागर हुन्छ। देउडा, झ्याउरे, धमारी, चैतजस्ता परम्परागत नृत्यदेखि आधुनिक प्रस्तुति, विद्यालयस्तरीय प्रतियोगितादेखि समुदायका समूह प्रस्तुति सबै एकसाथ मेल खाँदै प्रस्तुत हुन्छन्।
बालकदेखि वृद्धसम्म सहभागिता जनाउने यो महोत्सव सबै पुस्तालाई समेट्ने साझा सांस्कृतिक पुलजस्तै बनेको छ। सुदूरपश्चिमको संस्कृति मात्र होइन, देशका विभिन्न भूभाग—पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएका कलाकारका कला र कौशलले महोत्सवलाई अझै जीवन्त र बहुरंगी बनाएको छ । विविधता भएर पनि एकताको सुन्दर भाव झल्किने ठाउँ नै सुदूरपश्चिम महोत्सव हो।
यो वर्षको महोत्सवमा थपिएको एक अनौठो र निकै आकर्षक विशेषता हो—विदेशबाट ल्याइएको जलपरी शो ; पानीभित्र प्रस्तुत गरिने कलात्मक प्रदर्शनले महोत्सवमा नयाँपन र रोमाञ्च थपेको छ। स्थानीय संस्कृतिसँगै आधुनिक कला र प्रविधिको समेत अनुभव गराउने यस आकर्षणले महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा पनि जोड्ने संकेत दिएको छ।
यति मात्र होइन, यहाँ आयोजित समूह छलफल, सामाजिक संवाद, विद्यार्थी प्रतियोगिता र शैक्षिक गतिविधिले महोत्सवलाई मनोरञ्जनभन्दा पर उठाएर ज्ञान, संवाद र चेतनासँग जोडिदिएको छ। यस अर्थमा महोत्सव एक प्रकारको खुला विश्वविद्यालयजस्तै बनेको देखिन्छ। जहाँ समाजका विभिन्न तह र तप्काका मानिसहरूले आफ्नो दृष्टिकोण, अनुभव र विचार आदानप्रदान गर्छन्।
२०६३ सालमा सुरु भएको सुदूरपश्चिम महोत्सव आज १९औँ संस्करणसम्म आइपुग्दा धेरै आरोह–अवरोह पार गरिसकेको छ। तर हरेक वर्ष यसले सुदूरपश्चिमको अर्थतन्त्रमा सकारात्मक योगदान, पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको मूल्यवृद्धि र सामाजिक सद्भावको विस्तार गरिरहेकै छ। यही कारण महोत्सव अब केवल एक कार्यक्रम होइन, सुदूरपश्चिमको समृद्धि यात्रालाई अगाडि बढाउने आधारशिला बनेको छ।
सुदूरपश्चिम महोत्सवले बोकेको सांस्कृतिक गरिमा, आर्थिक सम्भावना र सामूहिक ऊर्जा नै यस क्षेत्रको भविष्य निर्माण गर्ने शक्ति बनेको छ। विविधताबीचको एकता, परम्पराभित्रको आधुनिकता र सम्भावनाको फोहोराबाट उठेको यो उत्सव आज सुदूरपश्चिमको अभिमान र गौरव दुवै बनेको देखिन्छ।
जहाँ छ व्यवसायी र ग्राहकको संगम
जहाँ छ सुदूरपश्चिमका नौ जिल्लाको संस्कृति र पहिचान
समेटेको छ सबै पुस्ता
जहाँ पाइन्छन् स्वदेशी देखि विदेशी उत्पादनहरु
जस्ले बोकेको छ सुदूरपश्चिमको विकासको अभिभारा
जहाँ समेटिन्छन् पुर्ब- पश्चिम,
उत्तर -दक्षिणका कलाकारका कला कौशल हरु
जहाँ देखिन्छ विविधता
त्यही साँझा मञ्चमा छ एक दृढ एकता
हो त्यही हो ; सुदूरपश्चिम महोत्सव !
