कैलाली, २४ मंसिर / सुदूरपश्चिम प्रदेशका लागुऔषधको समस्या विकराल बन्दै गइरहेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै कैलाली कञ्चनपुरबाट दैनिक रूपमा भित्रिएका लागु पदार्थहरू अहिले पहाडी जिल्लासम्म पुग्दै आइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले लागुऔषधबाट बझाङ, बाजुरा र दार्चुलालाई समेत अछुत नराखेको देखाउँछ ।
प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा ३ सय ६४ पुरुष, १८ महिला र १२ भारतीय गरी ३ सय ९२ जना पक्राउ परेका थिए । त्यस वर्ष प्रदेशभरि २ सय ५४ मुद्दा दर्ता भएका थिए । जसमध्ये कैलालीमा १ सय ३७ जना, कञ्चनपुरमा २ सय ३१, बझाङमा ३, बाजुरामा ४, डोटीमा ३, दार्चुलामा ७, बैतडीमा ५ र अछाममा २ जना पक्राउ परेका थिए ।
त्यस वर्ष प्रदेशभर ५ किलो ३ सय ९१ ग्राम गाँजा, ५६ किलो ५ सय ४८ ग्राम ७ सय ६८ मिलिग्राम चरेस र १ किलो २ सय ३१ ग्राम ९ सय ५८ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७८–७९ मा सुदूरपश्चिमका नौवटै जिल्लामा ५ सय २४ पुरुष, २१ र १८ भारतीय पुरुष ५ सय ६३ जना पक्राउ परेका थिए । यो तथ्याङ्कले अघिल्ला वर्षको तुलनामा यस वर्ष १ सय ६४ जना बढेको देखिन्छ ।
पक्राउमध्ये कैलालीमा ३ सय १४, कञ्चनपुरमा २ सय ३४, डडेल्धुरामा ३, बझाङमा ३, बाजुरामा ५, डोटी र दार्चुलामा २–२ पक्राउ परेका थिए । प्रदेशभर ३ सय ५६ मुद्दा दर्ता भएका थिए । यस वर्ष प्रदेशभर १ किलो १ सय ५५ ग्राम गाँजा, १ सय १२ किलो ८ सय ४० ग्राम चरेस र १ किलो ५६ ग्राम हिरोइन बरामद भएको थियो ।
आर्थिक वर्ष २०७९–८० मा सुदूरपश्चिमका नौवटै जिल्लामा ७ सय ७३ पुरुष, ६६ महिला र १७ भारतीय पुरुष गरी ८ सय ५६ जना पक्राउ परेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ सय जना बढेका छन् ।
त्यस वर्ष कैलालीमा ५ सय १८, कञ्चनपुरमा २ सय ९२, डडेल्धुरामा ९, बझाङमा ३, बाजुरामा १, डोटीमा ७, दार्चुलामा ५, बैतडीमा १४ र अछाममा ७ जना पक्राउ परेका छन् । प्रदेशभर ५ सय ३८ मुद्दा दर्ता भएका थिए । त्यो वर्ष प्रदेशभर ठूलो मात्रामा लागु औषध बरामद भयो । तथ्याङ्क अनुसार ५० किलो ५ सय ग्राम गाँजा, १ सय ९ किलो ७ सय १४ ग्राम चरेस र ४ सय ३२ किलो ४ सय ६२ मिलिग्राम हिरोइन बरामद गरिएको थियो ।
वर्ष २०८१–८२ मा ९ सय ७७ पुरुष, ५६ महिला र १० भारतीय गरी १ हजार ४३ जना पक्राउ परेका छन् । त्यस वर्ष भने अघिल्लो वर्षको तुलनामा घट्दो देखिएको छ । कैलालीमा ७ सय, कञ्चनपुरमा २ सय ७५, डडेल्धुरामा १५, बझाङमा ४, बाजुरामा ५, डोटीमा ५, दार्चुलामा १९, बैतडीमा ९ र अछाममा ११ जना पक्राउ परे । प्रदेशभर ६ सय ९३ मुद्दा दर्ता भएका छन् ।
प्रदेशभर ३ किलो ६ सय १८ ग्राम गाँजा, ७२ किलो ६ सय ८१ ग्राम चरेस र ४ सय ९४ ग्राम ७ सय ८६ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै चालु आर्थिक वर्षको कात्तिक १७ गतेसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा १ सय ५६ पुरुष र ३ महिला गरी १ सय ५९ जना पक्राउ परेका छन् । जसमध्ये कैलालीमा ८५, कञ्चनपुरमा ५२, डडेल्धुरामा ४, बझाङमा ९, बाजुरामा ३, डोटी र दार्चुलामा ३–३ जना पक्राउ परेको विवरण छ भने १ सय ९ मुद्दा दर्ता भएका छन् । यो ४ महिनामा प्रदेशभर ९ किलो चरेस र २ सय ३२ ग्राम हिरोइन बरामद गरिएको छ
चालु आवको साउन १ गते देखि कार्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा मात्रै लागु औषधका ८९ मुद्दा दर्ता भएका छन् । ५ महिला र १ सय २५ पुरुष गरी १ सय ३० जना पक्राउ परेका छन् । यो अवधिमा १ सय ९३ ग्राम २० मिलिग्राम खैरो हेरोइन, ७ किलो ३ सय ६६ ग्राम चरेस र ७७ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।
यो तथ्याङ्कले सुदूरपश्चिममा प्रत्येक वर्ष लागु औषध बरामद दर र पक्राउ पर्ने सङ्ख्या उच्च दरमा बढिरहेको देखिन्छ । भारतबाट नेपालमा लागु औषध असोरपसारमा संलग्न र प्रयोगकर्ताको उमेर समूह प्रायः ४० वर्षमुनिकै रहेको पाइएको छ ।
नियन्त्रणको लागि अभियान शुरु
प्रदेशको सबैभन्दा ठूलो समस्याका रूपमा पैदा भइरहेको लागु औषध कारोबार तथा सेवनको क्रमलाई नियन्त्रण र न्यूनीकरण गर्न कैलालीबाट प्रदेशस्तरीय अभियानको शुभारम्भ गरिएको छ ।
युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदले आफूहरूले शुरु गर्न लागेको अभियानले युवाहरूलाई लागु औषधबाट टाढा राख्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशका सबै जिल्लामा पुगेर ती जिल्लामा रहेको लागु औषधको अवस्थाबारे अन्तरक्रिया गर्दै सरोकारवाला निकाय र व्यक्तिहरूसँग यसको समाधानको लागि नीतिगत संवाद गरिने उनले बताए ।
कैलालीको गौरीगङ्गा नगरपालिका–५ को मोहन्याल माध्यमिक विद्यालयबाट परिषद्ले प्रदेशस्तरीय कार्यक्रम शुरु गरेको हो।
मङ्गलवार सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अभियान उद्घाटन गर्दै प्रदेशलाई लागु औषध मुक्त बनाउन सबैलाई आह्वान गरेकी थिइन् ।
‘हाम्रो प्रदेशको सबैभन्दा ठूलो समस्या नै अहिले लागु औषध बनिरहेको छ । अब यो अभियानबाट त्यसको नियन्त्रण र न्यूनीकरणमा सरकार लागेको छ ’ उनले भनिन्, ‘तपाईं हामी सबैले आफ्नो परिवार र समाजलाई लागु औषधबाट जोगाउन सक्यौँ भने प्रदेशलाई लागू औषध मुक्त बनाउन सक्छौँ ।’
लागु औषधकै कारण समाजमा हिंसा र अपराध बढिरहेको उनले भनाइ थियो । विशेषाधिकार समिति सभापति तुलसी देवकोटाले सामूहिक प्रयासबाट लागु औषधको समस्या समाधान गर्न सकिने बताएकी थिइन् ।
नगरप्रमुख देवीदत्त कँडेलले स्थानीय सरकारले समस्या समाधानको लागि युवा परिषद्सँग हातेमालो गर्न चाहेको बताएका थिए । उनले सेवनकर्तालाई भन्दा कारोबारीलाई पक्राउ गर्न र कारबाही गर्न प्रहरी प्रशासनलाई सुझाव दिएका थिए।
सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी स्वस्थ जनशक्तिले मात्र समाज, प्रदेश र देशको विकास हुनसक्ने भन्दै अहिलेका युवाहरू लागु औषधको समस्याबाट टाढा रहनुपर्ने बताएका थिए ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तबले प्रत्येक वर्ष लागु औषधको समस्या बढ्दै गइरहेको भन्दै तीनै तहको सरकारबाटबाट त्यसको नियन्त्रणका लागि गतिविधि गर्न आवश्यक रहेको बताएका थिए ।
गौरीगङ्गा नगरपालिका ५ का वडाका वडाध्यक्ष विष्णु भाटले अभियानले प्रदेशमा लागू औषधको समस्या समाधान गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
अभियान शुभारम्भ कार्यक्रममा युवा परिषद्काकी मिरा पौडेलले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुगेर अभियान सञ्चालन गर्ने जानकारी गराइन् । प्रदेशस्तरीय अभियान शुभारम्भ कार्यक्रममा कलाकार राजाराजेन्द्र पोखरेलले विद्यार्थी तथा अभिभावकहरूलाई लागु औषधको प्रयोगबाट हुनसक्ने घटनाहरू र त्यसबाट बच्न सकिने उपायहरूका बारेमा रमाइलो ढङ्गले प्रस्ट पारेका थिए ।