धनगढी, २१ मंसिर / कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव २०८२ आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा हुने भएको छ। शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवका सबै तयारी पूरा भइसकेको जानकारी दिए।
अध्यक्ष ओझाका अनुसार प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार र कला–संस्कृतिको प्रवर्द्धन गर्दै आर्थिक र सामाजिक क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यसहित महोत्सवको १९औँ संस्करण आयोजना गर्न लागिएको हो। २०६३ सालदेखि निरन्तर रूपमा आयोजित हुँदै आएको महोत्सव यसपटक बृहत व्यावसायिक कृषि प्रदर्शनी सहित सञ्चालन गरिने छ।
५०० भन्दा धेरै स्टल, सबै बुक
कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिसहित ५०० भन्दा बढी स्टल रहने र सबै स्टल बुक भइसकेको संघले जनाएको छ। महोत्सवमा देशभरका उद्यमी व्यवसायीलाई सम्मानपूर्वक सहभागिता गराइने छ।
स्थानिय कला–संस्कृतिलाई प्राथमिकता
सुदूरपश्चिमको कला, संस्कृति र परम्परालाई संर्वद्धन गर्न स्थानीय कलाकार तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइने बताइएको छ। महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहित खाद्य स्टलहरूको व्यवस्था गरिने र सरसफाइमा विशेष ध्यान दिइने संघले जनाएको छ।
सुरक्षा र आपतकालीन तयार
महोत्सव स्थलमा अत्याधुनिक सिसी क्यामेरामार्फत निगरानी गरिनेछ। सरकारी तथा निजी सुरक्षाकर्मी, दमकल, प्राथमिक उपचार तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा रहनेछ। सहभागी व्यवसायी तथा दर्शकको सुरक्षाका लागि बीमा सुविधा पनि गरिएको छ।
१५ करोड बराबरको कारोबारको अनुमान
करीब ३ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने महोत्सवबाट १५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ भन्ने अनुमान आयोजकले गरेको छ। यस वर्ष करिब ७ लाख अवलोकनकर्ता भित्रिने अपेक्षा गरिएको छ।
टिकट दर र सुविधा
विद्यार्थी : रु. ५०
सर्वसाधारण : रु. १००
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति : निःशुल्क
उद्योग वाणिज्य संघका सदस्यहरूलाई निःशुल्क प्रवेश
सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट प्राप्त आयमध्ये केही रकम महिला सशक्तीकरण र लागू औषध दुरुपयोग नियन्त्रण जस्ता क्षेत्रमा खर्च गरिनेछ।
इसेवा मार्फत अनलाइन टिकट
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न संघले इसेवासँग अनलाइन टिकट पार्टनरशिप गरेको छ। अब मोबाइलबाटै इसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ।
मनोरञ्जनका नयाँ आकर्षण
बालबालिका तथा खेलप्रेमी दर्शकका लागि यस वर्ष महोत्सवमा नयाँ ‘एक्सप्रेअर्म’ मनोरञ्जन सुविधा थपिएको छ।
अध्यक्ष ओझाले महोत्सवलाई भव्य रूपले सफल बनाउन सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार, विद्यार्थी, उद्यमी व्यवसायी र सर्वसाधारणलाई सक्रिय सहभागिताको आग्रह गरे।