धनगढी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई चुरे गाउँपालिकाले यस वर्ष अभियानकै रूपमा अघि बढाईरहेको छ। सो अभियान अन्तर्गत गाउँपालिकाले हरेक वडामा महिला, बालबालिका तथा सरोकारवालासँग अन्तरक्रिया र चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही क्रममै आज १२औँ दिन चुरे–३ सहजपुरमा पनि फाया नेपाल र ल्याक परियोजनाको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरि मनाइएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारा सहित मनाइएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, सामुदायिक संस्था तथा सरोकारवालाहरूको सहभागिता थियो।
कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीसहित उपाध्यक्ष धना थापा, फाया नेपालकी अध्यक्ष गोमा आचार्य, सब–डिभिजन वन कार्यालयका प्रमुख स्यामसुन्दर माझी, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख किशोर जोशी, चुरे सामुदायिक वन महासंघका अध्यक्ष करन साउद, वडा सदस्य यमुना बिक, त्रिमूर्ति कृषि सहकारीका अध्यक्ष भोजबहादुर छेडाल, लालीगुराँस स्वास्थ्य आमा समूहकी अध्यक्ष शान्तिदेवी बिक, सहजपुर सहकारीका प्रतिनिधि लालबहादुर साउद, समाजसेवी सुरेन्द्र खडायत, किसान बहुउद्देश्यीय सहकारी सहजपुर शाखाका प्रमुख दिनेशराज न्यौपाने तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
चुरे क्षेत्रमा विभिन्न सामाजिक विकृतिका नयाँ–नयाँ आयाम देखिन थालेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख किशोर जोशीले बताए । ती समस्यालाई सामूहिक प्रयासमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण धम्की, बदनामी, ब्ल्याकमेलिङजस्ता घटनाले महिलालाई थप पीडित बनाइरहेको बताए। “धेरै महिला हिंसामा परे पनि बोल्दैनन्, नबोलेपछि समस्याको पहिचान र समाधान दुवै कठिन बन्छ,” उनले भने।
महिलाहरू अझै पनि सिकाइका अवसरमा कम सहभागी हुने हुँदा सशक्तिकरणमा चुनौती देखिएको किसान बहुउद्देश्यीय सहकारी सहजपुर शाखाका प्रमुख दिनेशराज न्यौपानेले बताए। सहकारीले साना–साना समूह बनाएर नेतृत्व विकासमा लगानी गरिरहेको भए पनि सक्रियता नहुनु समस्या भएको उनको भनाइ थियो।
पितृसत्तात्मक सोचकै कारण महिलाले दैनिक जीवनमै थुप्रै प्रकारका हिंसा सहनुपरेको फाया नेपालकी अध्यक्ष गोमा आचार्यले बताइन् । प्रविधिको गलत प्रयोग, छोराछोरीबीचको विभेद, भ्रुण हत्या, छाउपडीजस्ता कुसंस्कार अझै उन्मूलन हुन नसकेको उनी बताउछिन् । मानवीय विकासमा राज्य र स्थानीय तहले ध्यान दिनुपर्ने, केवल भौतिक विकासले मात्र पर्याप्त नहुने उनको भनाइ रहेको थियो।
चुरेमा अझै पनि घर–घरमै छाउपडी प्रथा कायम रहनु दुखद भएको गाउँपालिकाका अध्यक्ष चक्र बोगटिले बताए। अभिभावक स्वयंले छोरीलाई छाउगोठमा बस्न बाध्य बनाउनु पनि हिंसा भएको उनको भनाइ रहेको थियो। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये बालविवाहका घटनामा चुरे गाउँपालिका पहिलो स्थानमा रहेको बताउदै उनले १३–२० वर्ष उमेर समूहका ४५ प्रतिशत किशोरीले बालविवाह गरेको समेत उनले बताए । “सानै उमेरमा टीका–टालो गरेर बुहारी भित्र्याइन्छ। यो हिंसा हो,” अध्यक्ष बोगटिले भने।
प्रत्येक वडामा लैङ्गिक हिंसा न्यूनीकरणका लागी कार्यक्रम सञ्चालन भइरहेको उपाध्यक्ष धना थापाले बताइन्। तर, दिदीबहिनीहरूको उपस्थिति कमजोर हुँदा जनचेतना अभियानले अपेक्षित परिणाम दिन नसकेको उनको अनुभव थियो।
कार्यक्रमका वक्ताहरूले लैङ्गिक हिंसा रोकथामका लागि समुदाय, स्थानीय सरकार, संस्था तथा परिवारको भूमिकालाई महत्वपूर्ण भएको सरोकारवालाहरुको भनाई रहेको थियो । यसैबीच, चुरे गाउँपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणलाई निरन्तर अभियानका रूपमा अघि बढाइरहेको छ। प्रत्येक वडामा महिला , बालबालिका तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको गाउँपालिकाले कड्किरीस्थित ककरसिंह आधारभूत विद्यालयमा, साथै वडा नं. १ को किम्तोलामा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ। महिलालाई पहिलो प्राथमिकतामा राखेर सञ्चालन गरिएका यी कार्यक्रमले समुदाय–स्तरमा चेतना वृद्धि र हिंसा रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको भनाइ रहेको छ।