धनगढी,१९ मंसिर / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको ३७औँ केन्द्रीय साधारण सभा तथा अधिवेशन धनगढीमा सम्पन्न भएको छ। जोरपाटी काठमाडौंस्थित केन्द्रीय कार्यालयको आयोजनामा र खगेन्द्र नवजीवन केन्द्र शाखा कैलालीको व्यवस्थापनमा सम्पन्न साधारण सभामा देशभरका विभिन्न शाखाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि साम्देन लामालाई केन्द्रिय अध्यक्षमा निर्बिरोध रूपमा निर्वाचित गरेको छ। त्यस्तै महासचिवमा मान बहादुर साउँद र कोषाध्यक्षमा पुण्य प्रसाद सापकोटा पनि निर्बिरोध रुपमा चयन भएका छन्। यसैगरी सदस्य पदमा मनमाया भण्डारी, भगवती वुढाथोकी, उषा ओली कार्की, दिनेश घिमिरे,दिपेन्द्र बहादुर सिंह,खेमराज भण्डारी,सेर सिंह खड्का,भक्त राज उप्रेती,कुमारी पुस्पा रोकाया,नरेन्द्र प्रसाद जैसी,नन्दा भट्ट,गोविन्द मल्ल र दुर्गा कुमारी चौधरी निर्वाचित भएका छन्।
समुद्घाटन सत्र सभाध्यक्ष लाम्दल लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य उषा कार्की, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधि, केन्द्रीय समितिका पदाधिकारी, कर्मचारी, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका वर्तमान अध्यक्ष कृष्ण प्रसाद धमला, निवर्तमान अध्यक्ष मान बहादुर साउँद, अपाङ्गता भएका व्यक्ति तथा पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति थियो।
आर्थिक वर्ष २०८२/८३ का भावी कार्यक्रमहरू प्रस्तुत गर्दै बन्द सत्रमार्फत पारित गरिएको कार्यक्रममा, शाखा कैलालीका पूर्व कोषाध्यक्ष मान बहादुर साउँदले कैलाली शाखा ओझेलमा परेको भन्दै यसको तत्काल स्तरउन्नति तथा एक जना कर्मचारिको व्यवस्थापन गर्नुपर्ने धारणा राखे। उनले अपाङ्गता पुनःस्थापना केन्द्र विस्तारसँगै ह्वीलचेयर मर्मत केन्द्र स्थापनाको आवश्यकतामा पनि जोड दिए, जसलाई सहभागिता रहेका सदस्यहरूले ताली सहित समर्थन जनाएका थिए। साधारण सभा सम्पन्न भएसँगै नवनिर्वाचित समिति र आयोजक पक्षले नयाँ वर्षका कार्यक्रमहरू कार्यान्वयन गर्ने तयारी अघि बढाएको जानकारी गराइएको छ।