हामी पत्रकार
कुनै समयमा पत्रकार शब्द आफैमा सर्व श्रेष्ठ र सम्मानित थियो । समय फेरिएको छ । आज किन पत्रकार भन्दा सबैले मन मारेर बोल्छन् , किन भन्छन जाबो पत्रकार रे ? थप्दै झन भनि हाल्छन् कुनै झोले त होला ? किन नजर फेरियो, यसरी किन हेरेका होलान पत्रकारलाई, के यसमा पत्रकार नै दोषी हुन् त ? कतै एकको कमजोरी पुरै पत्रकारितामा त खोजिएको छैन? यस्ता सयौं प्रश्न जवाफ विहीन बनेका छन् ।
आज कुनै एक जनाले गरेको गल्तीको शिकार समग्र पत्रकारिता नै भएको छ । गल्ती गर्नेले सजाय भोग्नु पर्छ यसमा कुनै दुई मत छैन तर गल्ती बिना पनि सम्रग क्षेत्र नै खराब भएको अभिव्यक्ति आइरहँदा नयाँ पुस्तालाई के सिकाउदै छौं भन्ने बारे पनि हेक्का राख्नु पर्ने बेला आएको छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न पाउनु पर्छ, तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार पनि संरक्षण गर्नु पर्छ भन्ने कुरा हामीलाई कस्ले सिकाइ दिने ?
राम्रो लेख्ने , बोल्ने, पढ्नेलाई नजर अन्दाज गर्ने हामीहरु, झोले उपनाम दिने हामीहरु , पत्रुकार नाम दिने हामीहरु, अलि चर्काे बोलेको , घुमाउरो लेखेको मात्रै खोज्ने हामीहरु अनि त्यसको सजाय पत्रकारलाई दिने ? म सबै राम्रो छन त कदापि भन्दैन तर म यो अवश्य भन्छु सबै खराब मात्रै छैनन् । जब सबै पाठक सही गलत छुट्याउने हुन्छन् । तब लेखककोे बाध्यता हुन्छ थप परिष्कृत बिषयको उठान गर्नु , तर सबै रङ्गमञ्चमै सिमित रहे पछि किन लेखकले मात्रै एक तर्फी मेहनत गर्ने ; कदापि गर्दैन आजको समयमा भएको यहीँ हो ।
“हामी कसैले छुट्याउन सकेनौ को हो युटुबर, को हो टिकटकर , को समाजिक सञ्जाल प्रयोगकर्ता र को हो पत्रकार र पत्रकारिता ; सबैलाई एउटै ठाउँमा राखेर त्यहीं नजरले हेर्दा आज यो अवस्था आएको हो । “
कसैले सोधेको छ पत्रकारको समस्या , कसैले बुझेको छ पत्रकारको भावना पक्कै पनि छैन । तर हेर्नुस पत्रकार सबैको समस्या लेख्छ , बोल्छ र सुनाउछ । म यो त भन्दैन सबै निस्वार्थ काम गर्छन, तर कति धेरै पत्रकार कुनै स्वार्थ नलिई काम पनि गरेकै छन् । तपाईले जागिर गरेर निश्चित समय पछि विदामा बस्नु पर्छ । तर हेर पत्रकारले निरन्तरता नदिए पनि समस्याको उठान गरी रहेकै हुन्छ । तर कस्तो बिडम्बना त्यहीं पत्रकार र त्यही पत्रकारिता यत्रतत्र अपमानित भएका छन् । हामी अपमान गर्न लालाहित छौं ।
तपाईको भाषामा पत्रकार पागल हुन । साच्चिकै म पनि यो अभिव्यक्तिलाई स्विाकार गर्न तत्पर छु । किन कि म पनि एक पागल हुँ । आफुले न के पाउनु छ , न के लिनु छ तर हेर सारा समय दिएको छ । कस्को लागि सायद तपाईले दिएको यही उपमाको लागि होला झोले, पत्रुकार , पुत्रकार , यावत छन् ।
यति लेखी रहँदा म कुनै विशेषज्ञ भने पक्कै हैन । तर आफ्नो कमजोरी नदेख्ने, अरुलाई मात्रै दोष दिने प्रवृत्तिका विरुद्ध भने म पक्कै छु । पत्रकारलाई मात्रै एकतर्फी तथानाम गाली नगरौं आफुलाई पनि चिनौं म को हुँ भनेर …..!
