धनगढी १५ असार / बैतडी सुर्नया गाउँपालिकाको नतिजामा शंकर संस्कृत मावि मूलखटालीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। गाउँपालिकाभरिमै सबैभन्दा बढी विद्यार्थी सहभागी गराएर २ जनालाई ए प्लसमा उत्तीर्ण गराउँदै ५० जना विद्यार्थीलाई वर्गकृत गर्न सफल भएको हो।
गाउँपालिकाभरिमै ए प्लस मा पास हुने विद्यार्थी शंकर संस्कृत माविका रोहित अवस्थी र रोहित कुँवर मात्रै हुन् । यसैगरी शंकर संस्कृत माविले यसपटक ऐतिहासिक नतिजा ल्याएको छ। ५९ जना विद्यार्थी सहभागी गराएर ५० जनालाई ग्रेडेड गर्दै ८५ प्रतिशत नतिजा ल्याएको छ।

तर समग्र सुर्नया गाउँपालिकाको नतिजा भने सन्तोषजनक छैन। १३ स्कुल रहेको सुर्नया गाउँपालिकाबाट ३ सय ५७ परीक्षार्थीले एसईई दिएका थिए। जसमध्ये १ सय ९५ जना विद्यार्थी वर्गीकृत भएका छन् भने १६२ जना विद्यार्थी अवर्गीकृत भए , यसरी समग्र सुर्नया गाउँपालिकाको नतिजा ५५ प्रतिशत मात्रै रहेको छ।