धनगढी ,१० असार — नेपाल–भारत सीमामा अवस्थित शिवपुरीधाममा यही असार २१ गते (जुलाई ६) देखि भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। एशियाकै सबैभन्दा अग्लो १०८ फिटको शिवलिङ्ग रहेको यस पवित्र स्थलमा हुन लागेको कार्यक्रमबारे मंगलबार भारतको उत्तर प्रदेश अन्तर्गत लखिमपुर जिल्लाको पलिया नगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
धार्मिक कार्यक्रमको संयोजन भारतीय जनता पार्टी (भाजपा) का नेता रवि गुप्ताले गरिरहेका छन्। सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। नेपालबाट वरिष्ठ उद्योगपति शुभ ठाकुर, धनगढीका पूर्व नगरप्रमुख नृप ओड, कार्यक्रमका संकल्पकर्ता पण्डित सत्यराज अवस्थी, र बेहडा बाबा मन्दिर ट्रस्टका पूर्व अध्यक्ष पद्मराज जोशी कार्यक्रममा सहभागी थिए।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूलाई आयोजक मण्डलीले भगवान पशुपतिनाथको रुद्राक्ष माला अर्पण गरी सम्मान गरेका थिए भने विशिष्ट अतिथिहरूलाई अंगवस्त्र ओढाइ सत्कार गरिएको थियो।
कार्यक्रमका संयोजक गुप्ताले शिवपुरीधामलाई धर्म, संस्कृति र सनातन परम्पराको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ। ती श्रद्धालुहरूका लागि सुरक्षा, बास, र भोजनको विशेष व्यवस्था गरिएको छ।
१०८ फिट अग्लो शिवलिङ्गलाई धार्मिक पर्यटकको नयाँ गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिने यस धार्मिक कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको आयोजकहरूले बताएका छन्।