लबदेव धामी
धनगढी, १८ जेठ / १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गर्दा पनि सुदुरपश्चिममा प्रदेशस्तरीय प्रतियोगिता नहुदाँ सुदूरपश्चिम प्रदेशका खेलाडी अन्यौलमा परेका छन् । १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ जेठ २८-३० सम्म काठमाडौँमा हुने गरि तय हुँदा सुदूरपश्चिम प्रदेशमा भने अहिले सम्म प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको टुङ्गो लागेको छैन् ।
सुदुरपश्चिम खेलकुद परिषद्मा सदस्य सचिव समेत प्रदेश सरकारले नियुक्त गर्न नसक्दा झनै अन्यौल अवस्था सिर्जना भएको भन्दै सुदूरपश्चिम प्रदेश खेलकुद महासंघ, कैलाली जिल्लाका , उसु , कबड्डी, भलिबल, तेक्वान्दो, एथलेटिक्स र कराँते संघका पदाधिकारीहरुले प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र समाजिक विकास मन्त्री मेघराज खड्कालाई भेटेका छन्।
१४ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट भएको सुदूरपश्चिम प्रदेशलाई प्रतियोगितामा सहभागी गराउन नसके प्रदेशकै प्रतिष्ठिामा आँच आउन सक्ने कैलाली जिल्ला उसु संघका अध्यक्ष राजिव गुप्ताले सुदूरपत्रलाई जानकारी दिए। प्रदेश स्तरीय प्रतियोगितामा ९ जिल्लाकै खेलाडी सहभागी गराउन पर्ने भएकाले अब प्रदेश सरकारले यथाशीघ्र सबै जिल्लाहरुलाई परिपत्र गरि छिटो प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्नु पर्ने सुदूरपश्चिम प्रदेश खेलकुद महासंघ र कैलाली जिल्लाका ६ वटा खेलकुद संघहरुले जोड दिएका छन्।
खेलकुदका पदाधिकारीलाई भेट्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काले खेलकुद प्रतियोगिता गर्न आफुहरु लागि परेका छौं। एक दुई दिन भित्रै सुचना निकालेर जिल्ला स्तरका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति सुदूरपश्चिम प्रदेश स्तरीय स्तरीय खेलकुद प्रतियोगिता गर्दै राष्ट्रिय राष्ट्रपति खेलकुद प्रतियोगितामा खेलाडी सहभागि गराउनेमा प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी गराए ।
तर प्रदेश खेलकुद परिषदमा सदस्य सचिव लगायतका पदाधिकारीको टुंगो पनि लगाउन नसकेको सरकारले प्रदेश स्तरीय प्रतियोगिता गर्न सक्छ भन्नेमा विश्वस्त नरहेको खेलकुद महासंघ र संघका पदाधिकारीहरुले आशंका व्यक्त गरे ।
१४ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगितामा जितेको शिल्डलाई फिर्ता गर्न भए पनि सुदूरपश्चिमले यस पटक राष्ट्रिय प्रतियोगितामा जानै पर्ने अर्को नैतिक परिबन्ध रहेको समेत कैलाली उसु संघका अध्यक्ष गुप्ताले जानकारी दिए।