१९ वैशाख / भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीवार दिल्लीमा छुट्टा छुट्टै भेटघाट तथा अवलोकन भ्रमण गर्नु भएको छ ।
मुख्यमन्त्री शाहले नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेड र कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गर्नु भएको हो । साथै विहिबार नै मुख्यमन्त्री शाह भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंहको दिवा भोजमा सरिक हुनु भएको छ ।
नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनीसँगको छलफलमा प्रविधिमैत्रि सीप विकास क्षमताका वारेमा छलफल भएको थियो । सूचना प्रविधिको यूगमा डिजिटलमैत्रि प्रविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउँदा राष्ट्रलाई नै टेवा पुग्ने विश्वास लिईएको छ । कृषि अनुसन्धान केन्द्रसँगको भेटमा नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका सन्र्दभमा कुराकानी भएको थियो । कुराकानीको क्रममा मुख्यमन्त्री शाहले नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका लागि भारत सरकारसँग आग्रह गर्नु भएको थियो ।
त्यसैगरी एनएचपीसीका प्रतिनिधिमण्डलसँगको भेटमा उर्जा क्षेत्रका विषयमा छलफल भएको थियो । छलफलमा पश्चिम सेती जलविद्युत आयोजना ९क्च्ट० को डिपिआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडी बढ्न नसकेको अवस्था भारत सरकारले प्राविधिक लगायतको सहयोगले अन्तिम रुपमा दिन मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो । साथै पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा दुबैपक्षबीच छलफल भएको थियो ।
सोही अवसरमा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंहबीच टनकपुर–ब्रह्मदेब व्यारेजमा सहज आवागमनका विषयमा समेत कुनाकानी भएको थियो ।