यमुना साउद ,धनगढी ७ फागुन / बाजुराको बढीमालिका नगरपालिका–८ का शिवलाल तिमल्सिना तिमल्सिना अर्गानिक किराना पसल सञ्चालन गर्दै आउनुभएको छ। उहाँले स्थानीय रूपमा उत्पादन हुने सिमी, कागुनो, कोदोको पिठो, फापर, त्रिखुलो, भटमास, राजमा, जौ, भागो, टिमुर, रातो चामल लगायतका अर्गानिक उत्पादन बिक्री वितरण गर्दै आउनुभएको छ।
तिमल्सिनाले बिक्री गर्ने यी अन्न तथा खाद्यवस्तुहरू पहाडी क्षेत्रमा मात्रै उत्पादन हुने गर्छन्। यी उत्पादनहरूमा मलको प्रयोग नगरिएकाले पूर्ण रूपमा अर्गानिक मानिन्छन्। यदि मल प्रयोग गरिएमा, बिरुवाले उत्पादन नै नदिने हुँदा यी परम्परागत खेतीप्रणालीमा आधारित छन्।
तर पछिल्लो समय भारतबाट आयात हुने सस्तो खाद्यवस्तुले गर्दा स्थानीय अर्गानिक उत्पादन बजारमा ओझेलमा पर्दै गएको छ। मिसावटयुक्त चामल, दाल सस्तो पाइने भएकाले उपभोक्ताहरूले त्यही किन्ने गरेका छन्। उपभोक्ताहरू अर्गानिक उत्पादनको महत्व नबुझ्दा, स्थानीय उत्पादनको बिक्रीमा समस्या उत्पन्न भइरहेको उनले बताए।
“पहिलो कुरा, उपभोक्ताहरू अर्गानिक उत्पादनको महत्व बुझ्दैनन्,“ तिमल्सिना भन्छन्, “दोस्रो कुरा, सस्तो पाइने लोभमा मिसावटयुक्त खाद्यवस्तु किन्दैछन्। जङ्क फुड सबै रुचाएर खान्छन्, तर अर्गानिक दाल, चामल, तरकारी खान चाहँदैनन्।“
तिमल्सिनाले अर्गानिक उत्पादनहरू लोप हुँदै गएको बताउँदै यसप्रति जनचेतना आवश्यक रहेको बताएका छन्। “कतिपयलाई यी उत्पादनको बारेमा जानकारी नै छैन, भने कतिपयले त अर्गानिक वस्तु चिन्नै छोडिसके,“ उनले भने।
सरकारले स्थानीय अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने नीति ल्याउनु आवश्यक रहेको उनको भनाइ छ। साथै, उपभोक्ताहरूले पनि स्वदेशी उत्पादनको महत्व बुझेर गुणस्तरीय तथा स्वस्थ खाद्यवस्तु उपभोग गर्नुपर्छ भन्ने कुरामा उनले जोड दिएका छन्।
यी चिज वस्तुहरू उनले केही दिन पहिला लागेको कृषि प्रदर्शनी मेलामा पनि ल्याएका थिए। उनलाई यी चिजवस्तु उपलब्ध गराउन कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीय तहले सहयोग गरेको थियो।
