धनगढी, ६ फागुन / भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली विद्यार्थी प्रकृति लमसालको मृत्यु भएको छ । नेपाली विद्यार्थीको होस्टेलमा मृत्यु भएपछि थप नेपाली विद्यार्थीहरूलाई समेत होस्टेलबाट निकाल्दै विश्वविद्यालयले दुःख दिएको घटनाप्रति धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले दबाब र्याली गरेका छन् ।
युवा एकता परिषद् नेपालको आयोजनामा गरिएको उक्त दबाब र्यालीमा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी , युवा एकता परिषद् नेपालका अध्यक्ष रोशन सुवेदी उपाध्याय, उपाध्यक्ष खेम राज भट्टराई, सचिव धुर्वराज न्यौपाने अन्य क्याम्पसमा भएका सम्पूर्ण विद्यार्थी संगठनका विद्यार्थी नेता लगायत विद्यार्थीहरूको उपस्थितिमा दबाबमूलक र्याली गरेको हो । केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादतीको घोर भत्सना गर्दै विद्यार्थी नेतृत्वहरूले सरकारलाई यस विषयमा शीघ्र कुटनीतिक वार्ता गर्न र प्रकृति लम्सालको न्यायको लागि माग गरेका छन्।
उडिसाको किट विश्वविद्यालयमा अनेक मानसिक यातनालाई सहन नसकी नेपाली विद्यार्थी प्रकृति लम्सालले गरेको आत्महत्या र त्यस पछि नेपाली विद्यार्थीले गरेको विरोधको विषयलाई लिएर विश्वविद्यालय प्रशासनले गरेको विद्यार्थीहरूमाथिकाे दमन र अत्याचारपुर्ण व्यवहारको अहिले सर्वत्र आलोचना भइरहेको छ। विश्वविद्यालयले भने नेपाली विद्यार्थीसँग माफी माग्दै होस्टेलमा फर्किन र कक्षा मा सहभागी हुन समेत आग्रह गरेर पत्र निकालिसकेको छ।
प्रकृतिलाई न्याय दिलाउन र नेपाली विद्यार्थीमाथी भएको ज्यादती आदि विषयमा प्रज्ञिक विद्यार्थी परिषद् नेपालको अनुरोधमा अखिल भारतीय विद्यार्थी परिषदले विश्वविद्यालय प्रशासन विरूद्द प्रदर्शन र उडिसा सरकारसँग नेपाली विद्यार्थीको न्यायकालागि समेत पहल गरेको छ ।