धनगढी, २४ माघ / धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गरेको छ। क्रिकेट खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन सफल ५ जना क्रिकेट खेलाडी कुशल भुर्तेल, लोकेश बम,ललित राजवंशी, विनोद भण्डारी र सन्दीप जोरालाई आज एक समारोहका बिच सम्मान पत्रसहित जनही रु.१० हजार प्रदान गरि सम्मान गरेको हो ।
पाठशालाको विहानी सत्रमा गरिएको उक्त समारोहमा विद्यार्थीहरु माझ आफ्ना अनुभवहरुसँग साक्षात्कार गराउँदै क्रिकेटर कुशल भुर्तेलले सफलता प्राप्तिका लागि अनुशासनको ठूलो महत्व र इच्छाशक्ति भए जीवनमा जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने कुरा विद्यार्थीहरुलाई बताएका छन् । यस्तै क्रिकेटर लोकेश बमले पनि नेपाली खेलको क्षेत्रमा यस पाठशालाबाट पनि खेलाडी जन्मिने छन् भनी शुभकामना व्यक्त गरेका थिए साथै पाठशाला परिवारप्रति खेलाडी समूहले यो सम्मानले आफूहरुलाई थप हौसला मिलेको भनी धन्यवाद ज्ञापन समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले आजका बालबालिकालाई किताबी ज्ञान मात्रै नभई रुची अनुसारको क्षेत्रमा अग्रसर गराउने कुरा पनि बताउनु भयो ।विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले धन्यवाद ज्ञापन गर्दै विद्यालयले विद्यार्थीमैत्री वातावरण दिएको र चैतन्य स्पोर्ट्स एकेडेमीबाट खेल जगतमा राम्रा प्रतिभा उजागर गर्ने बताएका छन् ।
नेपाली क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएका क्रिकेट टोलीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।