लबदेब धामी
धनगढी, ९ माघ/कैलालीको लम्किचुहा ८ मलभङ्गाको बडिमालिका इट्टा उद्योग (बिएमआई)मा भारतीय मजदुर बन्धक भएका छन् । भारतीय ठेकेदारले इटा भट्टा सञ्चालक भद्र बिष्टसंग मजदुर ल्याईदिने सर्तमा उद्योगमा काम गर्ने मजदुर (भारतीय नागरिक)लाई छोडेर सम्पर्क बिहिन भएपछि ति मजदुरलाई भट्टामै नियन्त्रण गरी राखिएको छ । इट्टा उद्योगका सञ्चालक बिष्टका नाममा भारतीय नागरिकमाथि गरेको अभद्र व्यवहार र बन्दक बनाएको भन्दै भारतीय प्रहरी प्रशासनमा मुद्दा समेत दर्ता भएको छ । भारतको उत्तर प्रदेशका मजदुरहरु अहिले पनि ईटा भट्टाकै नियन्त्रणमा रहेका छन् ।
उता इटा उद्योग सञ्चालक बिष्ट भने आफूले मजदुरलाई कुनै खाले बन्धक नबनाएको तर भारतीय मजदुरलाई ल्याउने ठेकेदार स्वयं यहाँ नभएकाले तत्काल मजदुरलाई छोड्न नसकिनेमा अडान लिदै आएका छन् । उनले भने आफूले मजदुरलाई कुनै दुःख नदिएको उल्टो यतिका मजदुरलाई रोजगारी दिएको र मजदुर राखेबापत अग्रिम भुक्तानी र सम्झौता समेत गरिसकेको , मजदुरहरूको सबै व्यवस्था गरिरहेको भन्दै जोड दिए ।

धनगढीबाट यस विषयमा थप सोधखोज गर्न पत्रकारको टोली इटा उद्योग परिसरमा पुग्दा त्यहाँका सबै मजदुर खुलेर बोल्न सकेनन् तर पनि भित्रभित्रै मजदुरहरू पीडामा रहेको आसयका देखिएका थिए । सबै मजदुर निराश अवस्थामा देखिन्थे इटा उद्योग सञ्चालक बिष्टले भनेजस्तो रोजगारी पाएकोमा कोही पनि त्यतिको सन्तुष्ट नभएर झन् पीडामा रहेको समेत देखिएका थिए ।
इटा उद्योगमा साना ठूला गरेर करिब १७ जना रहेकामा त्यसमध्ये काम गर्नसक्ने भने १० जना जति मजदुर रहेका छन्। अधिकांश मजदुरले आफ्नो पीडा पत्रकारहरूसँग नखोले पनि त्यहाँ काम गर्ने दुईजना महिला मजदुरले भने आफ्नो पीडा आँसु बगाउँदै पत्रकारहरूसँग भनिन्, आफूलाई यहाँ बन्धक बनाइएको छ, हामी यहाँ देखि जान चाहन्छौं , आफूहरूलाई नानाथरी कुरा लगाएर डरत्रास समेत देखाउने गरेको बताइन ।
यता इट्टा उद्योग सञ्चालक बिष्टले भने उक्त कुरा स्वीकार्न मानेनन्, यो मुद्दा पनि बनी बनाऊ र पैसा लगेर आफूलाई ठग्न खोजेको पटकपटक ठगेको तर यसपटक आफू सजग भएकाले ठग्न नसकेको ,आफूले प्रहरी प्रशासनसँग दुई दिनको म्याद मागेको र यी मजदुरहरूका ठेकेदार आएपछि यो विषयबारे सबै स्पष्ट हुने समेत उनले बताए।