धनगढी, १० पुस / आज धुमधामका साथ क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाइरहेका छन्। नेपाल पनि धर्म निरपेक्ष राष्ट्र भएकाले देशभर आज सार्वजनिक विदा दिइएको छ।
आज देशभर क्रिसमस डे मनाइरहँदा धनगढीमा पनि धुमधामका साथ मनाइँदैछ। धनगढीमा क्रिश्चियन धर्मालम्बीहरूले एकातिर आफ्नो मूल्य मान्यता अनुसार मनाइरहेका छन् भने अर्कोतिर निजी विद्यालयहरूले पनि क्रिसमस डेलाई विशेष महत्वका साथ मनाइरहेका छन्।
निजी स्कुलहरूले सहिष्णुता, सांस्कृतिक विविधता भन्दै क्रिस्मसलाई प्रोत्साहन गरे पनि अभिभावकहरु भने असन्तुष्ट देखिन्छन्। आफ्ना नानीबाबुहरूलाई जबरजस्ती क्रिसमस डे लाद्न खोजेकोप्रति असन्तुष्ट छन् । क्रिसमसका लागि चाहिने महंगा लुगाहरू विद्यार्थीहरुका लागि विद्यालयहरूले अनिवार्य गरेका र सार्वजनिक विदाको दिन क्रिसमसलाई प्रोत्साहन गर्दा अधिकांश अभिभावक असन्तुष्ट भएका हुन् ।
यता शिक्षाविदहरूले भने फरक धारणा राखेका छन् “निजी विद्यालयहरूले भोलिको प्रभावलाई नबुझी स-साना बालकहरूलाई जबरजस्ती क्रिसमस लाद्न खोजेको आरोप लगाए” साथै समाजमा आफू छुट्टै पहिचान बनाउने भनेर समाजलाई प्रलोभन देखाउन खोजेको र विदेशी संस्कृतिलाई बढावा दिएको प्रति शिक्षाविदहरु समेत असन्तुष्ट देखिन्छन्।
हाम्रो प्राचीन मूल्यमान्यता र चाटपर्वलाई त्यति प्राथमिकता नदिने निजी विद्यालयहरूले क्रिसमसलाई भने वर्षैपिच्छे धुमधामका साथ मनाइरहँदा भविष्यमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभावको सामना गर्नुपर्ने ठम्याई शिक्षाविदहरूको रहेको छ।