धनगढी, १३ असोज / बुद्ध एयरको शनिबारको धनगढी–काठमाडौँ उडानमा एक जना यात्रु मात्र सवार रहेको पाइएको छ । काठमाडौँको प्रतिकुल मौसमका कारण शनिबार बिहानैदेखि उडानहरु प्रभावित भएका थिए ।
साँझ मौसम खुलेपछि २ः३५ को धनगढी–काठमाडौँ उडान साँझ ५ः५१ मा मात्र भएको थियो तर साँझ ७ बजेर २७ मिनेटमा धनगढीबाट उडेको बुद्ध एयरको अन्तिम विमानमा एक जना मात्र यात्रु सवार थिए ।
मौसमकै कारण अन्मित उडानका लागि टिकट लिएका यात्रुलाई समेत ५ स् ५१ कै विमानमा उडाइएको थियो तर मौसम खुलेपछि काठमडौँबाट यात्रु लिएर बुद्धको विमान धनगढी आइपुगेको थियो ।
सोही विमानमा अघिल्लो उडानमा जान नपाएका ती यात्रु एक्लै धनगढीबाट काठमाडौँ उडेका थिए । बुद्ध एयरका धनगढी प्रमुख बुधराम माझीले प्रतिकुल मौसमका कारण अन्तिम फ्लाइटका यात्रुहरु समेतलाई अघिल्लो फ्लाइटमै पठाइएको बताए ।
६ बजेपछि मौसम खुलेकाले काठमाडौँ–धनगढी उडान सम्भव भएको बताउँदै माझीले अन्यलाई अघिल्लो फ्लाइटमा पठाएपनि छुटेका ती यात्रुलाई साँझको फ्लाइटमा पठाइएको बताए ।
