धनगढी, ३० भदौ / दोस्रो एश्वर्य कपमा विवाद सिर्जना भएको छ । भदौ २६ गते बाट सुरु भएको एश्वर्य कप हिजो २९ गते सम्पन्न हुने भनेता पनि अन्तिम खेलमा आएर बझाङ् र अछामका खेलाडीका बिचमा विवाद सिर्जना भएको हो ।
खेल हिजो अन्तिममा आएर स्थगित भए पछि आयोजकले आफैँ निर्णय गर्छु भनेर जानकारी गराएको थियो । खेल अवरुद्ध भएको करिब १ घण्टा पछि खेलाडीलाई आयोजककै समुहबाट धनगढीको अपि सैपाल थकालीमा खाना खाने बेलामा आयोजक एश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्को नेतृत्वमा आएको २० देखि २५ जनाको समूहले खेलाडीहरुलाई अश्लिल गाली दिनुका साथै बझाङबाट खेलेका खेलाडी सुरेन्द्र भाटलाई गम्भिर रुपमा घाइते पारेका हुन् ।
घाइते खेलाडी भाटको हिजो रातिबाट नै भर्ना गरेर मायामेट्रो अस्पतालामा उपचार भैरहेको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस बझाङको टिमका प्रशिक्षक सिंहले बताए । खेलाडीको बिचमा भएको सामान्य विवादमा आयोजक स्वयंले खेलाडीहरुमाथि गरेको दूव्र्यवहार र राति अबेरमा खाना खाने बेलामा आएर ज्यानै लिने मानोसायले खेलाडीलाई कुटेको प्रति आफुहरुको घोर आपत्ति रहेको बझाङका टिम क्याप्टेन महेश खत्रीले पत्रकार सम्मेलन गरि बताए ।
खाना खाँदै गरेका खेलाडीलाई आयोजक एश्वर्य स्ववियूका सभापतिको नेतृत्वमा आएको समूहले गरेको दूव्र्यवहार उचित नभएको भन्दै कावार्हीको माग राखेर बझाङको टिम ब्यबस्थापन , प्रशिक्षक र खेलाडीहरुको सिङ्गो टोली जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा गैैसकेको भएता पनि निवेदन लिन प्रहरी कार्यालयले आनाकानी गरेको समेत प्रशिक्षक सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
यस्तै खेल मैदानबाट सुरु भएको विवाद खाना खाने स्थान अपि सैपाल थकालीमा आएर उग्ररुपमा परिणत भए पछि अपि सैपाल थकालीमा पनि भौतिक क्षति भएको छ । दुई पक्ष बिच भएको झडपमा थकालीका टेबुल , कुर्सी लगायत एक थान मोबाइलमा क्षति भएको हो । त्यस बेला खाना नास्ता गरी रहेका ग्राहक समेत खाना खाँदै गरेको छोडेर जाँदा धेरै जसो पैसा नदिएर गएको समेत थकालीका सञ्चालकले बताए ।
खेलाडीलाई पर्वद्धन गछौँ भनेर खेल गर्ने आयोजकले आफैँ राष्ट्रिय स्तरमा खेली सकेका खेलाडीमाथि गरेको दूव्र्यवहार ज्यादै निन्दनीय भएको र यस्तो गर्नेलाई कानुन बमोजिम उचित कार्वाही गर्नु पर्ने बझाङबाट खेलेका खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक लगायत सबैको माग रहेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।