धनगढी १२ साउन/नेपाल प्रहरी श्रीमति संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी पराजुलीको जन्मदिनको उपलक्ष्यमा शुक्रबार धनगढीस्थित दृष्टि फाउण्डेसनका आश्रित महिला तथा बालबालिकाहरुको लागि लत्ताकपडा वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच नेपाल श्रीमति संघ सुदूरपश्चिम प्रदेश समितिले दृष्टि फाउण्डेसनमा आश्रित महिला तथा बालबालिकालाई लत्ताकपडा वितरण गरेको हो ।
लत्ताकपडा वितरण गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र केसीले मानसिक सन्तुलन गुमाएका बेसहारा महिलाको लागि निःस्वार्थ काम गर्ने संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टको साहस र सहनशिलता प्रशंसनीय रहेको बताए ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृप बहादुर वडले सडकमा बेसहारा रहेका महिला तथा उनका आश्रित बालबालिकाको निःस्वार्थ भावनाले सेवा गर्ने संस्थालाई सबैबाट सहयोग आवश्यक रहेको बताए ।
लत्ताकपडा वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेश प्रशासक सचिव टेक कुमारी गाहामगर, प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट, कैलाली प्रहरी प्रमुख एसपी पदम बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सञ्चालिका कल्पना भट्टले बेसहारा महिला तथा बालबालिकाको लालनपालनमा समर्पित दृष्टि फाण्डेसन सञ्चालनलाई सहज बनाउन सबैको सहयोगका लागि आग्रह गरेक छन् ।