काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आइतबार दिउँसो संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।
’संसदीय दल बैठकको निर्णयबमोजिम प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको हो,’ उनले भने, ’बैठकले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओली नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै विश्वासको मत दिने निर्णय गरेको थियो ।’
बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
कांग्रेसले विगत केही समयदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरुको खोजी उद्धार, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न समेत सरकारसँग माग गरेको छ ।