काठमाडौं , ७ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गरे ।
राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको भन्दै उनले भने, ‘निर्भिक र निष्पक्ष कारबाहीले लोकतन्त्रको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’
सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । ‘सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु,’ उनले भने ।
नीति तथा कार्यक्रम पेश भइसकेको र बजेटको छलफल चलिरहेको अवस्थामा सरकारका दीर्घकालीन प्रतिबद्धताहरू संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउँदै उनले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरे ।
‘प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ, म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु,’ उनले भने, ‘म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।’
प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनोस् । त्यसले यो सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ । राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय होइन, सक्रिय विश्वासको मत चाहिएको छ । त्यो प्राप्त हुनेछ भन्ने मेरो विश्वास छ ।