धनगढी, १७ फागुन / कैलालीमा सशस्त्र प्रहरीले ७ लाख बढीको सामानसहित ४ जनालाई पक्राउ गरेको छ। बुधवार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको मोबाईल टोलीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा भन्सार छलीको सामान समातेका हुन ।
टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ७ लाख ९८ हजार बरावरको लत्ताकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ। यस्तै सामानसहित ४ जना व्यक्तिहरु पनि पक्राउ परेका छन्।
जसमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड बस्ने ६२ वर्षीया महेश्वरी बिष्ट, सोही ठाउँकी ३५ वर्षीया तुलसी भट्ट, ३७ वर्षीया धना साउद र ३५ वर्षीया गौरी ओझा रहेको डीएसपी खेम ठकुल्लाले जानकारी दिए।
त्यस्तै अन्य क्षेत्रमा समेत गरेर नयाँ एसपी आएपछि हालसम्म सशस्त्रले १८ लाख ५६ हजार सात सय ४५ मूल्य बरावरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ। यस्तै १ लाख ३७ हजार छ सय बरावरको कुखुरा तथा माछा बरामद गरी नष्टसमेत गरिएको बताइएको छ।