मोरङ, ९ भदौ / सुनसरीको इटहरीदेखि तरहरासम्म सद्भाव र्याली निकालिएको छ। धरानमा गोरु काटेर मासु खाएको विषयमा विवाद बढ्दै गएको बेला हिन्दु धर्मावलम्बीहरुले शान्तिपूर्ण सद्भाव र्याली निकालेका हुन्।
र्यालीमा चतराका बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पिठाधीश अच्युत प्रपन्न स्वामी, श्रीनिवासाचार्य, गोकुलधामका दिनबन्धु शान्त्रीलगायत विभिन्न स्थानबाट आएका धार्मिक गुरुहरु सहभागी थिए। उनीहरुले इटहरीदेखि तरहरासम्म पैदल यात्रा गरेका थिए। धरानमा निषेधाज्ञा जारी भएकोले उनीहरुले तरहरामै कोणसभा गरेका थिए।
केही दिनअघि गोरु काटेर खाएको विषयमा विवाद बढ्दै गएपछि सुनसरी प्रशासनले शुक्रबार रातिदेखि धरानमा निषेधाज्ञा जारी गरेको छ। आज धरानमा सद्भाव र्याली निकाल्ने कार्यक्रम थियो। तर, र्यालीमा अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरेको हो।