कैलाली, ७ भदौ / भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभएको छ ।
आठ वर्षअघि टीकापुरमा हिंसात्मक घटना भएको दिन पारी नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर नगरपालिका –१ ब्लक नम्बर २९ स्थित निर्माणाधीन प्लानेटोरियम परिसरमा स्वर्गीय बालकको सालिक अनावरण गर्नुभएको हो ।
“अबदेखि कुनै आमाले यस्तो पीडा भोग्न नपरोस्, यस्तो घटना नदोहोरियोस्” मन्त्री श्रेष्ठले भन्नुभयो, “अब टीकापुर राजनीति गर्ने थलो मात्र नबनाई सद्भावपूर्ण वातावरणमा विकासतिर अघि बढाऔँ । यस्तो अकल्पनीय घटना नेपालमा कहिल्यै कतै नहोस् । सबै शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।”
नेपालको संविधान जारी हुनुपूर्व २०७२ भदौ ७ गतेका दिन थरुहट प्रदेशको माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौ जना प्रहरी र एक बालकको ज्यान गएको थियो । बालक टेकबहादुर साउदको सालिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बनाएर सो पार्टीलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रतिनिधि सभाको सदस्य चुनिएर पनि पाँच वर्षसम्म संसद् छिर्न नपाएको भन्दै चौधरीले त्यही घटनाबाट जन्मेको नागरिक उन्मुक्ति पार्टी र टेकबहादुर साउदका परिवारबीचको सम्बन्ध भने सुमधुर रहेको बताउनुभयो ।
‘हत्याको आरोपित रेशमलाल र बालकका बुबा, बाजे एउटै मञ्चमा छु हत्यारालाई कसैले स्विकार्छ । ’ स्वर्गीय बालकका बुबा नेत्र साउदलाई मञ्चमै अङ्कमाल गर्दै चौधरीले भन्नुभयो, ‘रञ्जिता मन्त्री भएपछि साउद परिवारले मन्त्रालय पुगेरै आशीर्वाद दिनुभयो, टेकबहादुर मेरो पनि छोरा हो । सालिक मैले बनाउन पाउनुपर्छ भनेको थिएँ र बनाएँ ।’
चौधरीले स्वर्गीय बालकका बाजे जङ्गबहादुर साउदलाई सहिद प्रहरीका घरमा पुगेर अनुमति ल्याए दिवङ्गत प्रहरीको सालिक पनि आफैले बनाउने बताउनुभयो । टीकापुरस्थित प्लानेटोरियममा टीकापुर घटनामा दिवङ्गत प्रहरी र वालकको सालिक राख्न स्थान छुट्टयाइएको छ ।