धनगढी, ३ भदौ / पछिल्लो समयमा उद्योगहरू खुल्ने क्रम घटेसँगै आर्थिक मन्दीको कारण देखाई धमाधम उद्योग बन्द हुन थालेका छन् । कैलाली जिल्लामा सञ्चालित साना तथा मझौला उद्योग बन्द हुने क्रम बढ्दै गएको छ।
बन्द हुनेमा कृषिमूलक, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटनमूलक उद्योगहरू रहेको कार्यालय प्रमुख ओझाले बताए ।उनले उद्योग दर्ता खारेजी फाराममा प्रायस् उद्योग बन्द गर्नु परेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकिने भएका कारण विदेश गइरहेको, उद्योगले पारिवारिक समस्या बढेको, उद्योगका लागि स्थानीयस्तरका कच्चा पदार्थ नपाइएको, बाहिरबाट कच्चा पदार्थ ल्याउँदा महँगो भएको लगायतका कारण उल्लेख गर्ने गरेको बताए ।
‘उद्योग बन्द गर्ने उद्यमीको समस्या प्रायस् समान खालका छन्,’ कार्यालय प्रमुख ओझाले भने, ‘उद्योग बन्द गरेर विदेश गइरहेको, उद्योग सञ्चालन गर्न लिएको ऋण तिर्न नसकेर पारिवारिक समस्या उत्पन्न भएको, जताततै कर तिर्नु परेको लगायतका समस्या उद्योगीले उल्लेख गरेका छन् । हामीले उद्योग बन्द गर्नुपरेको कारणको विश्लेषण गर्दैछौं । केही दिनमै एकीन तथ्यांक सार्वजनिक गर्छौं।’
साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिडपछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । २०७७/०७८ मा दुई हजार ९६८, २०७८/०७९ मा दुई हजार ४३७ र २०७९/०८० मा एक हजार १९७ वटा उद्योग गर्दा भएको भएको कार्यालयले जनाएको छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकहरूले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको कार्यालय प्रमुख ओझाले बताए ।
हालसम्म कैलालीमा साढे २३ अर्बका साढे १४ हजारवटा साना उद्योग सञ्चालनमा छन् । साना तथा घरेलु उद्योग कार्यालयको तथ्यांकअनुसार साढे १४ हजार उद्योगमा २३ अर्ब ४३ करोड ४७ लाख ९४ हजार रुपैयाँ पुँजी लगानी छ । ती उद्योगले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
तीमध्ये आठ हजार ५८ जना महिला छन् । ती उद्योगका १६ हजार २७४ जना उद्यमीमध्ये पाँच हजार ९४५ जना महिला छन् । तथ्यांकअनुसार कैलालीमा सबैभन्दा बढी कृषिमूलक उद्योग ६ हजार १३५ छन् । त्यसपछि सेवामूलक पाँच हजार ३८५ वटा र तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगको संख्या तीन हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग दुईवटा छन् । सूचना प्रविधिमूलक उद्योग नौवटा र निर्माणमूलक उद्योग दुईवटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।