९० जनाले ज्यान गुमाए, १० जना बेपत्ता
धनगढी, ३ भदौ / सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदबाट ठूलो मात्रामा धनजनमा क्षती पुगेको छ। सुदूरपश्चिम आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको तथ्यांक अनुसार २०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म प्रदेशमा प्राकृतिक विपदबाट ठूलो मानवीय तथा आर्थिक क्षति पुगेको हो।
सो अवधीमा ९० जनाले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिरोबाट ११ महिला र १९ पुरुष गरी ३० जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट ९ पुरुष र ५ महिला गरी १४ जना,बाढीबाट ६ पुरुष र तीन महिला गरी ९ जना, हिउँ पहिरोमा परेर १ पुरुष र ८ महिला गरी ९, भूकम्पबाट दुई पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीबाट दुई पुरुष र चार महिला गरी ६, जनावर आंतकबाट दुई पुरुष र ५ महिला गरी ७, सर्पदंशबाट दुई पुरुष र तीन महिला गरी ५ जनाको मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
यस्तै अन्य घटनामा परी एक पुरुष, हावाहुरीबाट एक महिला, भारी वर्षाबाट एक महिला गरी जम्मा ९० जनाको मृत्यु भएको हो । २०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म प्राकृतिक विपदका ७ सय ५२ भएका घटनाबाट महिला र पुरुष गरी २ सय ३३ जना घाइते भएका छन्।३६ जना पुरुषको मृत्यु भएको छ भने एक सय ११ जना घाइते भएका छन्।
जसबाट ४ हजार ४ सय ७ प्रभावित परिवारको संख्या रहेको छ । ७ सय १३ घरमा आंशिक तथा दुई सय ५३ पूर्ण क्षति भएका घरको संख्या रहेको आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको तथ्यांकले देखाएको छ।
प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदबाट ११३ गोठमा क्षति पुग्दा १ हजार ७ पशुचौपायमा समेत क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै पहिरोबाट ७ लाख ८४ हजार बराबरको क्षति पुगेको, चट्याङबाट २२ लाख ८ हजार, आगलागीबाट १८ करोड ४५ लाख ६८ हजार ३३५, हावाहुरीबाट ३० लाख ९८ हजार, भारी वर्षाबाट २२ लाख ९८ हजारको क्षति भएको सुदूरपश्चिम आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीले बताएको छ।
यसरी सुदूरपश्चिम प्रदेशमा प्राकृति विपदका कारण १९ करोड २९ लाख ५६ हजार ३३५ रुपैयाँ बराबरको आर्थिक क्षती बेहोर्नुपरेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । प्रदेश प्राकृतिक विपद्का घटना मौसमजन्य, भौगर्भिक, जैविक विविधता विनाश तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्न अवस्थामा पुगेको छ । बाढी, पहिरो, चट्याङ्ग, भुकम्प, आगलागी, खडेरी जस्ता प्राकृतिक विपत्तिका कारण ठूलो धन–जन तथा पर्यावरणीय र भौतिक क्षतिको बेहोर्नुपरेको छ। प्रदेश सरकारले जोखिम न्यूनीकरण तथा सुरक्षाको पूर्वतयारीका साथै बजेटको ब्यवस्था गर्नुपर्ने देखीएको छ। यस्तै विपद जोखिमका क्षेत्रमा जनचेतना बिस्तार, पूर्वचेतावनी प्रणाली तथा प्रकोप जोखिमको नक्साङ्कन जस्ता पक्षहरू जोड दिई प्राकृतिक विपद्बाट आर्थिक तथा मानवीय क्षति कम हुने बिश्वास लिइएको छ ।