बैतडी, ३ भदौ / बैतडीको पाटन विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द रहेको छ ।डेढ वर्ष यता एउटा पनि पाटन विमानस्थलमा व्यावसायिक उडान भएको छैन ।
उडान नै नगर्ने भए १६ करोड राज्यको ढुकुटी प्रयोग गरेर बनाइएका ती संरचनाहरू के का लागी बनाएको भन्ने प्रश्न प्रत्येक बैतडीवासीको छ । प्रत्येक बिहीबार पाटन ( धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन(धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै उडान भर्न नसकिने यसअघि नै बताइसकेको छ ।
उडान नै नगर्ने भए १६ करोड राज्यको ढुकुटी किन सकेको

तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरनाहरू प्रयोगविहीन बनेको स्थानीयको भनाई छ । यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट वञ्चित हुनुपरेको स्थानीय बताउछन ।
तीन वर्षअघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।
नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने स्थानीय बताउछन्। स्थानीयका अनुसार १७ मिनेटको हवाई दूरीमा चारदेखि पाँच हजार भाडा धेरै भएकोे र समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुने र यात्रु पनि भेटिने भनाई छ ।
विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयहरूले टिकटकसमेत बनाउने गरेका छन् । नगर उपप्रमुख कमलसिंह बोहराले हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिरहेको बताए। हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेको बताउँदै उपप्रमुख बोहराले नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरी समन्वय भइरहेको जानकारी दिए ।
द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला बन्द भएको थियो । तर, २६ वर्षपछि २०७७ सालबाट सञ्चालनमा आए पनि यात्रु अभावको कारण देखाउँदै त्यसको एक वर्षपछि २०७८ चैत १० गतेयता व्यावसायिक उडान हुन सकेको छैन ।