धनगढी, २ साउन / सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ। दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो। तिज यो समुदायको ठुलो पर्व मानिन्छ। र, धूमधामसँग मनाउने गरिएको छ।
आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताइन। पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौु, उनले भनिन्। पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ।
राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ। महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन्। त्यसै गरी, आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताइन। अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैनु, उनले भनिन,साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो।
नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ। तर, राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन्। आज तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ। त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन्।
यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ। विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ। सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनूु भन्ने गरेको जनाइएको छ।
झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले उल्लेख गरिन्। तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ। यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेका जनाइएको छ।