धनगढी, ३२ साउन / भीमदत्त राजमार्ग बिहीबार (आज) ६ घण्टाका लागि बन्द गरिने भएको छ ।
गत २२ साउनमा आएको पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका ४ को बुढितोलामा मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मतसम्भार गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।
सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताए ।
लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।