अत्तरिया, ३१ साउन / सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन । नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टिकरण सोधेको थियो । तर स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजिनामा दिएका हुन ।
आरोप लागेको थाहा भएकै दिन ३ दिने स्पष्टिकरण सोधिएपनि जवाफ प्राप्त नभएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए । उनले जवाफ पेश गर्नुपर्ने दिन कटेपछि भट्टको राजिनामा पत्र आएको बताए ।
‘आरोप लागेको थाहा पाएकै दिन हामीले स्पष्टिकरण सोधका हौ, यही साउन २१ गते जवाफ पेश गर्ने अन्तिम दिन तोकिएको थियो’ उनले भने ‘तर सो दिन कटेपछि भट्टले राजीनामा पत्र पठाए, त्यो दिन देखी उनको उपस्थिति पनि भएको छैन ।’ उनले भट्टले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा मागेको बताए ।
नगरपालिकाले यही साउन २१ गतेसम्मका लागि भनेर भट्टलाई स्पष्टिकरण सोधेको थियो । तर भट्टले स्पष्टिकरण नदिएर साउन २२ गते नगरपालिकामा राजीनामा पत्र बुझाएका हुन । उनले आफुले अध्ययन गर्नुपर्ने लगायतका समस्या देखाएर राजिनामा बुझाएको बताईएको छ ।
नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो ।
भट्टलाई नगरपालिकाकै वडा नं. ४ मा रहेको एउटा कृषक समुहले कमिसन मागेको आरोप लगाएको हो । नगरपालिकाले दिएको ३ लाख अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको फोन रेकर्ड बाहिरिएको थियो । उक्त फोन रेकर्डमा केही रकम माथि पनि दिनुपर्ने भट्टले भनेको आधारमा स्पष्टिकरण माग गरेको नगरपालिकाले जनाएको छ ।
भट्टलाई नगरपालिकाले गत वर्ष करारमा नियुक्त गरेको थियो । उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका थिए । तर, अडियो आफ्नो भएपनि पैसा भने नमागेको उनले दाबी गरेका छन् ।