धनगढी, १७ साउन/युवाहरुलाई उद्यमशील बनाउँने र उनीहरुको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेको छ । नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो ।
नविन सोच, योजना, सपना र आइडियाहरुलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने फन्डका संयोजक मनोज भट्टले बताए । एसपीए कलेजमा अध्ययनरत् कुनैपनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउँन फन्डमा आवेदन दिन सक्नेछन् । आवेदन दिएमा मध्ये कुनै एक प्रस्तावले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरुले रकम पाउन सक्नेछन् ।
स्टार्टअपका लागि आगामी भदौं २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेलमा प्रस्तावना पठाउँन सकिनेछ । कुनै नयाँ विकास वा आविष्कारका लागि पनि फन्ड उपलब्ध हुनेछ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो ।
विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यका साथ नबिल बैंकसँगको सहकार्यमा बिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)कार्यक्रम लागु गरिएको छ ।
फन्डमा आवेदन दिएका वा छनौट भएका विद्यार्थीहरुलाई उक्त कार्यक्रममा राख्दै उद्यमशीलताको प्रशिक्षण समेत दिइने भएको छ । कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा छ ।
विश्वबजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने, विभिन्न देशका कलेजहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्ब बनाउँन विभिन्न १५ वटा क्लबहरु गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको छ ।