धनगढी, २९ चैत/कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २ दिनसम्म पनि शव उठ्न सकेको छैन । मंगलबार दिउँसो ११ बजेतिर मृत्यु भएकी गोदावरी नगरपालिका वडा नं। २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको शव हालसम्म पनि उठ्न नसकेको हो ।
अस्पताल प्रशासन सँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पुरा नगरेकाले पिडित पक्षले शव उठाउन दिएको छैन । मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानविन भएर दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताएका छन । उनले घटनाको निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउने पर्ने माग गरेका छन । अस्पतालको लापरबाहीका कारण शिशु र श्रीमतीको ज्यान गएको बताउदै उनले दोषीलाई कारबाहीका साथै उचित क्षतिपुर्तिको समेत माग गरे । ‘निष्पक्ष छानविन हुनुपर्छ, दोषिलाई कारबाही गरिनुपर्छ’ उनले भने ‘त्यसपछि हामि शव उठाउछौ, त्यसका साथै क्षतिपुर्ति पनि दिईनुपर्दछ ।’ उनले आफ्नो ५/६ वर्षको बालकको लालनपालन र पठनपाठनको पनि व्यवस्था मिलाईनुपर्ने बताए ।
यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नर बहादुर मौनीले घटनाको छानविनका लागी समिति गठन गरिएको बताए । उनले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही गरिने समेत बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । जसमा धनगढी स्थित सेती प्रादेशीक अस्पतालका दुई जना डाक्टरहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पिडित पक्षबाट रहेको उनले बताए ।