अत्तरिया/कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएपछि आन्दोलित स्थानिय माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । क्षतिपुर्तिको माग गर्दै भिमदत्त राजमार्ग अवरुद्ध गरेका स्थानियमाथी प्रहरीले करिब ८/१० राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
उनका अनुसार प्रहरीले अवरुद्ध राजमार्ग खोल्ने प्रयास गर्दा स्थानियहरुले ढुंगामुडा प्रहार गरेका थिए । स्थानियहरुले ढुंगामुडा प्रहार गरेसँगै प्रहरीले लाठिचार्ज सुरु गरेको थियो भने आन्दोलनकारीमाथी अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरु तितरबितर भएका छन भने राजमार्ग खोलिएको छ ।
आईतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं २ मा बस्ने २८ वर्षिया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका थिए । मृतक लक्ष्मी र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनिहरुको शव हाल मालाखेती अस्पतालमै राखिएको छ ।
