धनगढी ७ चैत/यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी मंगलबार धनगढीमा पत्रकारसंग छलफल गरिएको छ । फाया नेपालको समन्वयमा आइपासले कैलालीका पत्रकारसंग छलफल गरेको हो ।
छलफल कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्र, धनगढीका प्रजनन स्वास्थ्य फोकल पर्सन रमा गिरीले कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले पर्याप्त चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा, अन्धविश्वास, गर्भवतीहरू समयमै स्वास्थ्य संस्था नआउँदा, गर्भपतन सम्बन्धी कानुनी प्रावधान बारे जानकारी अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुलगायतका कारण मातृ मृत्यु दर घट्न नसकेको बताइन् ।
उनका अनुसार यसै वर्षको ७ महिनाभित्र कैलालीमा चार जना महिलाको गर्भवती महिलाको मृत्यु भएको छ । त्यस्तै २०७८÷८९ मा ९ जना र २०७७÷७८ मा २० जना गर्भवतीको मृत्यु भएको तथ्यांक छ । यसबाहेक उनले कैलालीका चुरे र मोहन्याल जस्ता विकट पालिकामा जनशक्ति अभाव, नजिकै स्वास्थ्य संस्था नहुनुले स्वास्थ्य सेवा दिन थप कठिनाइ भएको बताइन् ।आइपास नेपालका माधवी बज्राचार्यले २०६० देखि कानुनीरुपमा गर्भपतन गर्न पाउने सुविधा हुँदा पनि त्यसबारे पर्याप्त जानकारी नहुनाले अनिश्चित गर्भधारणलाई असुरक्षित तरिकाले गर्भपतन गराउने कारण मातृ मृत्युदरमा कमी आउन नसकेको बताइन् । उनले गर्भपतन गराउने स्वास्थ्य संस्थाबारे कतिपय महिलालाई जानकारी नहुनु र जथाभावी औषधि सेवनले पनि मातृ मृत्युदर बढेको बताइन् ।
‘गर्भपतन गराउन कुन–कुन संस्थाले मान्यता पाएको छ वा गर्भपतन गराउने व्यक्तिले त्यो सम्बन्धी तामिल लिएको छ वा छैन पनि थाहा पाउनुपर्छ,’ उनले भनिन्,’ ‘कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ भनेर पनि थाहा पाउनुपर्ने हुन्छ ।’उनका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनका क्रममा ज्यान गुमाउँछन् । उनले पत्रकारहरुले गर्भपतन सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
यद्यपि कैलालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । स्वास्थ्य तालिम केन्द्रको तथ्याङ्क अनुसार २०७६/७७ मा एक हजार ९५१, २०७७/७८ मा दुई हजार ६२९ र २०७८/७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् । ती मध्ये २०७६/७७ मा १८७, २०७७/७८ मा २१७ र २०७८/७९ मा ३६५ जना २० वर्ष मुनीका महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा एक सय ७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहेपनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोर किशोरीमैत्री संस्था रहेका छन्।यस्तै, कैलालीमा एक हजार दुई सय ६१ जना महिला स्वास्थ्य स्वयंसेवक छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल, नवजीवन अस्पताल र टीकापुर अस्पताललेभने गर्भवतीको अप्रेसन गर्ने मान्यता पाएका छन् ।
