धनगढी । कैलालीको अत्तरियाका राजमार्ग किनारामा स्थायी रुपमा नै टहरा निर्माण गरेर बजार विस्तार हुन थालेको छ । अत्तरियाको पुर्व रोडमा रहेको ट्राफिक पोष्ट अगाडी सडक अतिक्रमण गरेर बजार बिस्तार हुन थालेको हो ।
२०७४ सालअघि सडक किरानारमा निर्माण गरिएका टहर तत्कालिन स्थानीय तहको सरकारले हटाएको भएपनि पुनः सो क्षेत्रमा स्थायी रुपमा टहरा निर्माण गर्न थालिएको छ ।
सुरक्षा सामुदायिक वन संगै जोडिएको सो क्षेत्रमा अहिले दर्जनौ हटरा निर्माण गरेर होटल, मदिरा पसल, किराना पसल, कपडा पसल संचालन गरिएका छन् । सडक क्षेत्रमा पर्ने जग्गामा टहरा निर्माण गरेका उनीहरुले केही भागमा सुरक्षा सामुदायिक वनले लगाएको जाली समेत भत्काएर वनमा समेत अतिक्रमण गरेका छन् ।
गोदावरी नगरपालिकाले बजार क्षेत्रका ठेला गाडा व्यवस्थापन गर्ने भन्दै उक्त क्षेत्रमा बस्न दिएको सो क्षेत्रमा टहरा निर्माण गरेका व्यवसायीहरुको दाबी छ । तर, उनीहरुले भने स्थायी रुपमा नै टहरा निर्माण गरेर व्यवसाय संचालन गर्न थालेका छन । अहिले दैनिक रुपमा सो क्षेत्रमा अतिक्रमण गरेर टहरा थपिने क्रम जारी रहेको छ ।
सडक किनारामा १ साता अघि मात्रै पसल राखेकी एक महिलाले आफैले सडक किनारामा माटो भरेर पसल राखेको बताइन् । उनले उक्त ठाउँमा २५ हजारमा खोका किनेर राखेको बताइन् ।
सोही क्षेत्रमा खोका पसल राखेका खुसी राम साउँदले भने १ बर्ष देखि नै सो क्षेत्रमा पसल संचालन गरेको बताए । उनले सडक नजिक रहेको खोका नगरपालिकाले नै पछाडी धकेलिदिएको बताए । सुरुमा १०र१५ मात्रै खोका रहेपनि अहिले ५० वटा जती खोका निर्माण भइसकेको उनले बताए । उनले सडक किनारमा खामा गाडेर सबै जग्गा कब्जा भइरहेको बताए ।
‘५ बर्ष अगाडी इलाका प्रहरी कार्यालय मालाखेती अगाडी खोका थियो । त्यहाँबाट हटाइएपछि म पुर्व रोडमा आएको थिए । त्यसपछि पनि हटाउँदै फेरी राख्दै गरेर अहिले यो ठाउँमा बसेका छौ’ उनले भने ‘हटाए फेरी गाउँमा लग्नु पर्ला ।’
गोदावरी नगरपालिका – १ की बिष्नु माया तामाङले १० बर्ष पहिले देखि यस क्षेत्रमा व्यापार गरिरहेको बताइन् । उनले बीचमा ५ बर्ष अगाडी पसल हटाइएपनि अहिले पुनः नगरपालिकाले राख्न दिएको बताइन् ।
‘आफ्नो पहिले लगानी यही डुवेको थियो । अहिले यही राखेका छौ’ उनले भनीन् ‘नगरपालिकाले पुर्व पश्चिम राजमार्ग बिस्तार नहुँदा सम्म यही गरिखानुस भन्ने हिसावले कुरा मिलाएको छ । त्यसरी नै बसेका छौ ।’
उनले जमिन सम्याउनको लागि मात्रै चिनाई गरेर खाल्डो भरेको बताइन् । ‘१८ बर्ष पहिले हामी यहाँ बसेका थियौ । पछि २०७४ सालमा हटाइएको थियो’ उनले भनीन् ‘अहिले हामी पुन १ डेढ बर्ष देखि यहाँ बसेका छौ ।’
उनले रोड नआउँदा सम्म पसल संचालन गर्न दिन आफुले नगरपालिका संग आग्रह गरेको बताइन् । उनले पसल पछाडीको वनको क्षेत्रमा आफूहरुले अतिक्रमण नगरेको बताइन् ।
तर, वनले लगाएको तारजारी भने सो क्षेत्रमा व्यवसाय गर्ने केही व्यवसायीहरुले भत्काएका छन । जसले गर्दा सडक संगै वन क्षेत्र पनि अतिक्रमण हुने जोखिममा छ ।
